शुक्रबार, बैशाख २१, २०८१

सिरहामा कृषिजन्य उद्योग बढ्यो

लहान, २३ माघ । सिरहा जिल्लामा पछिल्लो समय कृषिजन्य उद्योग दर्ता गराउने क्रम ह्वात्तै बढेको छ । बैंक तथा वित्तीय संस्थाले कृषिजन्य उद्योगमा सजिलै ऋण लगानी गर्न थालेको र बढ्दो विद्युत् भार कटौतीले समेत खासै असर नपर्ने भएपछि सिरहामा कृषिजन्य उद्योग दर्ता गराउने क्रम बढेको हो । अघिल्लो आर्थिक वर्षसम्म पाँच प्रतिशत मात्र कृषिजन्य उद्योग रहेको सिरहामा आव ०७१/०७२ को छ महिनामा ४८ वटा कृषिजन्य उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय लहान सिरहाले जनाएको छ । सो कार्यालयका नासु काजीमान लिम्बूका अनुसार चालु आवको छ महिनामा कृषिजन्य उद्योगअन्तर्गत कुखुरापालनको १६ वटा, पशुपालनको १५ वटा, माछापालनको १० वटा, डेरीको चार वटा, कृषिको दुई वटा र नर्सरीको एउटा उद्योग दर्ता भएको छ । जिल्लास्थित बैंक तथा वित्तीय संस्थाबाट कृषिजन्य उद्योगमा ऋण लगानी हुन थालेको र अन्य उद्योगभन्दा कृषिजन्य उद्योगलाई बढ्दो विद्युत् भार कटौतीले खासै असर नपार्ने भएकाले कृषिजन्य उद्योगतर्फ स्थानीय आकर्षित भएको कार्यालयका निमित्त प्रमुख तपेश्वर साहले बताए । कृषिजन्य उद्योगबाहेक चालु आवको छ महिनामा उत्पादन उद्योगतर्फ ९२ वटा, सेवा उद्योगतर्फ १०५ र अन्य दुई वटा उद्योग गरी २४७ वटा उद्योग दर्ता भएको कार्यालयले जनाएको छ । योसँगै सिरहामा उद्योगको सङ्ख्या पाँच हजार ९८२ वटा पुगेको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ २३, २०७१