मङ्लबार, बैशाख २५, २०८१

ताप्लेजुङबाट चार अर्बको कालो सुन बिक्री

alaichi_ताप्लेजुङ, २२ माघ ।  ताप्लेजुङबाट यस वर्ष चार अर्ब रुपैयाँबराबरको अलैंची बिक्री भएको छ। कालो सुनको उपमाले चिनिने पहाडी जिल्लाको प्रमुख नगदेबालीको रूपमा रहेको अलैंचीले इतिहासकै सर्वाधिक मूल्य कायम गरेसँगै अलैंचीबाट ताप्लेजुङले चार अर्ब नगद साटेको हो।
जिल्ला कृषि विकास कार्यालय ताप्लेजुङका अनुसार यस वर्ष जिल्लामा कुल एक हजार चार सय १० मेट्रिकटन अलैंची उत्पादन भएको थियो।
हालको न्यूनतम मूल्य एक लाख पाँच हजार रुपैयाँ प्रतिमन (४० किलोग्राम) का दरले गणना गर्ने हो भने यहाँ उत्पादन भएको कुल ३५ हजार दुई सय ५० मनको अलैंचीको मूल्य करिब चार अर्ब रुपैयाँबराबर हुन आउँछ।
कृषि विकास कार्यालयको तथ्यांकअनुसार जिल्लामा ३५ हजार दुई सय ५० मन अर्थात् कुल १४ लाख १० हजार किलोग्राम अलैंची उत्पादन भएको छ। एक लाख पाँच हजार रुपैयाँ प्रतिमनले एक किलोग्राम अलैंचीको मूल्य दुई हजार ६ सय २५ रुपैयाँ पर्छ।
जिल्ला कृषि विकास कार्यालयका बागवानी अधिकृत उमेश राउतका अनुसार यहाँ उत्पादित अलैंचीले यस वर्ष आक र्षक भाउ पाएकोले किसान तथा व्यवसायी दुवैले गतिलो आर्थिक लाभ लिएका हुन्।
प्रमुख नगदेबाली अलैंचीले बनाएको सर्वाधिक मूल्यसँगै पूर्वी पहाडमा आर्थिक गतिविधि पनि बढ्न थालेको छ। एक मन अलैंची फलाउने किसानलाई समेत वर्षभरको पारिवारिक खर्च धान्न सजिलो भएको छ भने यसअघिको जस्तो आर्थिक मन्दीसमेत क्रमश: कम हुँदै गइरहेको छ।
कार्यालयको तथ्यांकअनुसार ताप्लेजुङमा यो वर्षमात्रै अलैंचीबाट तीन अर्ब ७० करोड १२ लाख ५० हजार रुपैयाँ नगद भित्रिएको छ।
अघिल्लो वर्षभन्दा यस वर्ष अलैंचीको उत्पादन घटे पनि मूल्य अकाशिएका कारण आम्दानीमा बढोत्तरी भएको राउतले बताए। गत वर्ष ताप्लेजुङमा कुल एक हजार सात सय ६२ मेट्रिकटन मात्र अलैंची उत्पादन भएको थियो।
यो तथ्यांकले यस वर्ष गत वर्षका तुलनामा तीन सय ५२ मेट्रिकटन अर्थात् झन्डै आठ हजार आठ सय मन अलैंची कम उत्पादन भएको देखिन्छ।
तर अघिल्लो वर्ष उत्पादित अलैंचीबाट कुल तीन अर्ब १५ करोड रुपैयाँमात्र आम्दानी भएको कृषि विकास कार्यालयको तथ्यांकमा उल्लेख छ। यस वर्ष अलैचीको मूल्य बढेकोले उत्पादन कम भए पनि आम्दानी बढेको हो।
आर्थिक वर्ष २०७०/७१ मा अलैंचीको उत्पादन राम्रो भए पनि हालको तुलनामा मूल्य न्यून थियो। जिल्ला कृषि विकास कार्यालयका अनुसार अघिल्लो वर्ष सरदर अलैंचीको मूल्य प्रतिमन ७० हजार रुपैयाँमात्रै थियो।
त्यस आर्थिक वर्ष अलैंचीको कारोबार नयाँ उत्पादनको ६६ हजारदेखि अन्तिम मूल्य ८० हजार रुपैयाँ प्रतिमनसम्म कायम भएको थियो भने यो वर्ष नयाँ उत्पादनमै ८० हजार रुपैयाँ प्रतिमनबाट कारोबार सुरु भएको अलैंची व्यवसायी संघ ताप्लेजुङले जनाएको छ।
अहिले अलैंचीको मुख्य व्यापारिक केन्द्र मानिएको भारतीय सीमा नजिकको नेपाली बजार झापाको बिर्तामोडमा प्रतिमन एक लाख १० हजार देखि १५ हजार रुपैयाँसम्ममा कारोबार भइरहेको व्यवसायीले बताएका छन्।

प्रकाशित मिति: बिहिबार, माघ २२, २०७१