मङ्लबार, बैशाख २५, २०८१

आलुको उत्पादनमा १५ करोड नोक्सानी

potatoesकपिलवस्तु, २२ माघ । प्रतिकुल मौसमका कारण यस वर्ष जिल्लामा आलुको उत्पादनमा १५ करोड रुपैयाँ बढीले नोक्सानी भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । डढुवा रोग र अधिक वर्षाका कारण आलुको उत्पादनमा कृषकहरुले नोक्सानी व्यहोर्नु परेको कार्यालयले जनाएको छ ।

यस वर्ष २ हजार ६ सय हेक्टर क्षेत्रफलमा आलु खेती गरिएकोमा सो क्षेत्रफलबाट ३६ हजार ४ सय मेट्रिक टन आलुको उत्पादन हुने कार्यालयले अनुमान गरेको थियो । तर, ४५ प्रतिशतले कमी आउने अनुमान गरिएको कार्यालय प्रमुख खुर्सेद अहमद खांले बताए । अधिकांश आलुमा डढुवा रोकको प्रकोप देखिएको छ, कार्यालय प्रमुख खांले भने, “कृषकको बारीमा बढी वर्षाका कारण आलुको गानो कुहिएर पनि आलुलाई ठूलो नोक्सानी पुर्याएको छ । उत्पादनमा कमी आएपछि यस वर्ष आलुको मूल्य बढ्ने सम्भावना पनि रह्यो ।” पकडी, निग्लिहवा लगायत गाविसहरु र कपिलवस्तु र वाणगंगा नगरपालिकाहरुका कृषकहरुले अधिक मात्रामा आलु खेती गर्ने गरेको कार्यालय प्रमुख खांले बताए । यस वर्ष गत वर्ष भन्दा १० प्रतिशत बढी क्षेत्रफलमा आलु खेती गरिएको छ ।

यसैगरी, गोलभेडा उत्पादनमा पनि यस वर्ष २५ प्रतिशतले कमी आउने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । जिल्लाको ३ सय २५ हेक्टर क्षेत्रफलमा गोलभेडा खेती गरिएकोमा सो खेतीबाट ६ हजार १२ मेट्रिकटन गोलेभेडा उत्पादन हुने कार्यालयले अनुमान गरेको भए पनि यसवर्ष गोलभेडाको उत्पादन ४ हजार ५ सय मेट्रिक टन मात्रै हुने कार्यालयले जनाएको छ । प्रतिकुल मौसम, विभिन्न रोग तथा प्रकोपको कारण गोलभेडाको उत्पादन घट्ने बताईएको छ । यसवर्ष जिल्लाको कपिलवस्तु नगरपालिका, वाणगंगा नगरपालिका, नन्दनगर, विजुवा, निग्लिहवा, धनकौली, लगायतका गाविसहरुमा प्रशस्त मात्रामा गोलभेडाको खेती गरिएको छ ।

जिल्लामा आलु तथा गोलभेंडा खेती प्रवर्धनकका लागि जिल्ला कृषि विकास कार्यालय र किसान परियोजनाले निशुल्क रुपमा प्राविधिक सेवा, विउ विजन तथा विभिन्न खाले तालिमहरु प्रदान गर्दै आएका छन् । – गोपाल भण्डारी

प्रकाशित मिति: बिहिबार, माघ २२, २०७१