शुक्रबार, बैशाख २१, २०८१

आयआर्जनका लागि बङ्गुर सहयोग

बर्दिया, २२ माघ । बर्दियाका बाढीपीडितलार्ई जीविकोपार्जनमा सघाउन बङ्गुर सहयोग दिइएको छ । डिएफआइडीको सहयोग तथा अक्सफामको सहकार्यमा फाया नेपालले सोरहवा गाविस वडा नं ३ बुटाहा र ९ पिपलपुरका ४२ परिवारलाई जीविकोपार्जनका लागि आयआर्जन गर्न बङ्गुरका पाठा वितरण गरेको हो ।

जिल्ला दैवी प्रकोप उद्धार समितिको तथ्याङ्क र गाविसको समन्वयमा संयुक्त प्रतिकार्य र सङ्क्रमणकालीन पुनर्लाभ कार्यक्रमअन्तर्गत पुस १ देखि माघ १५ गतेसम्म मोबाइल प्रविधिद्वारा विपत्मा परेका घरधुरीको सङ्कटासन्न अवस्था विश्लेषण गरी समुदायको मागको आधारमा पाठा वितरण गरिएको हो ।
करेसाबारी, बाख्रापालन, कुखरापालनमा पनि इच्छा देखाएकाले करेसाबारीका लागि बीउ तथा औजार तत्कालै वितरण गरिने र अन्य मागअनुसार विभिन्न संस्थासँग समन्वय गरेर सम्भव भएसम्म सहयोग गर्दै आईरहेको अक्सफामले जनाएको छ ।
कामका लागि नगदअन्तर्गत सोरहवामा छ हजार ६४१ मिटर ग्रामीण सडक मर्मत, दुई हजार ५० मिटर कुलो मर्मत, ५९ वटा घर मर्मत तथा निर्माण, ५९ वटा शौचालय मर्मत, १९ वटा शौचालय निर्माण, १९७ वटा फोहर फाल्ने खाल्डो निर्माण गरिएको फाया नेपालका संयोजक मानबहादुर डाँगीले बताए ।

प्रकाशित मिति: बिहिबार, माघ २२, २०७१