शनिबार, बैशाख १५, २०८१

सहुलियत दरमा विरुवा वितरण

बाजुरा, ११ माघ । जिल्ला कृषि विकास कार्यालय बाजुराले किसानलाई सहुलियत दरमा विभिन्न जातका फलफूलका बोट विरुवा वितरण गरेको छ । ५० प्रतिशत रकम मूल्य अनुदान गर्ने गरी जिल्लाका सबैजसो गाविसमा विरुवा वितरण गरिएको कार्यालयका बागवानी अधिकृत दिलबहादुर सिंहले जानकारी दिए ।
प्राविधिकको प्रारम्भिक सर्वे र किसानहरुको मागका आधारमा पुष अन्तिमसाताबाट वितरण कार्य सुरु गरेको कृषि विकास कार्यालयले स्याउ, ओखर, आरु, लप्सी, हलुवावेद लगायतका फलफूलका बोटहरु वितरण गरिरहेको छ ।
जसमा सबैभन्दा बढी ओखर र स्याउका विरुवा खपत भएका छन् । स्याउ खेतीका लागि निकै संभावना बोकेको कोल्टी, पाण्डुसैन, बाँधु लगायतका गाविसमा समेत स्याउको माग आएको कृषि कार्यालयको भनाई रहेको छ । यो वर्षमात्र ६.५ हेक्टर क्षेत्रफलका लागि १९ सय ५० बोट स्याउ वितरण गरिएको छ ।
यसैगरी १० हेक्टर क्षेत्रफलका लागि १ हजार बोट ओखर, १ हेक्टर क्षेत्रफलका लागि ३ सय २० बोट हलुवावेद, १ हेक्टर क्षेत्रफलका लागि १ सय १० बोट लप्सी, १ हेक्टर क्षेत्रफलका लागि ३ सय ६० बोट अनार र ०.७५ हेक्टर क्षेत्रफलका लागि २ सय २० बोट आरु वितरण गरिएको कार्यालयका सूचना अधिकारी समेत रहेका सिंहले कृषि अनलाईनलाई बताए ।
सिजन र मौसम अनुकुल लगाउन मिल्ने जति सबै फलफूलका बोटहरु वितरण गरिएको हो । फलफूलका बोटहरु बैतडी जिल्ला बाट ल्याइएका हुन् । किसानको माग अनुसार नै विरुवा ल्याएकोले समयमै वितरण गर्न सजिलो भएको कार्यालयले बताएको छ । पछिल्लो केहि वर्षयता किसानहरु अन्न बाली लगाउन छोडेर फलफूल खेती तर्फ आकर्षित बनेका छन् । – गंगराज पण्डित

प्रकाशित मिति: आइतवार, माघ ११, २०७१