शनिबार, बैशाख १५, २०८१

चामल अभावमा जाजरकोटका कैदी

जाजरकोट, २ माघ । कालीकोट र जाजरकोटका नागरिकहरुले चामलका लागि घण्टौं लाईन बस्दा पनि चामल नपाएर रित्तै फर्कनु परेको समाचार नयाँ होइनन् । हरेक बषै दोहोरिने प्रक्रिया जस्तै हुन् तर जिल्ला कारागार शाखामा रहेका चार दर्जन कैदीबन्दीलाई खुवाउने चामलको अभाव भएकै कारण खाना नपाउने अवस्था आएपछि भने यसले चर्चा पाएको छ ।

खाद्य संस्थानले कैदीबन्दीलाई खुवाउने अरुवा मोटो चामल ढुवानी नगर्दा बन्दी अवस्थामा रहेका कैदीहरुलाई चामल अभाव भएको हो । अहिले जाजरकोट सदरमुकाममा रहेको गोदाममा तीन क्विन्टल अरुवा मोटो चामल मात्र मौज्दात रहेको जनाइएको छ । खाद्य कार्यालयले दिएको जानकारीअनुसार यो अरुवा मोटो चामल एक वर्ष पुरानो रहेको हो । कैदीबन्दीलाई मासिक आठ क्विन्टल चामल आवश्यक परे पनि चामलको अभावका कारण निम्न स्तरको चामल खुवाएका कारणल कैदीबन्दीले आफूहरूलाई कुहिएको गुणस्तरहीन चामल खुवाएको आरोप लगाएका छन् ।
त्यस्तै नेपाल खाद्य संस्थानका ग्रामीणस्तरमा रहेका खाद्य डिपोमा आठ महिनादेखि खाद्यान्न ढुवानी हुन सकेको छैन । संस्थानका खलङ्गा, चौखा, नायकवाडा, घोगी र दशेरामा रहेका खाद्य डिपो आठ महिनादेखि चामलविहीन अवस्थामा रहेका हुन् ।
यी डिपोका लागि दुई पटकसम्म टेन्डर आह्वान गरिएको भए पनि नेपाल खाद्य संस्थानले स्वीकृति नगर्दा डिपो चामलविहीन भएका हुन् ।

प्रकाशित मिति: शुक्रबार, माघ २, २०७१