बिहिबार, बैशाख २७, २०८१

बंगुरको गुणस्तरीय मासु उत्पादन गर्नु आवश्यक

pradip bhattarai

डा.प्रदीप भट्टराई
प्रमुख
केन्द्रिय बंगुर कुखुरा प्रर्वद्धन कार्यक्रम

० पहिलो पटक पोर्क महोत्सव मनाउँदै हुनुहुन्छ नि ?
बंगुर पालन व्यवाय, उत्पादन र बंगुरको मासुको बजारीकरणका साथमा बंगुरका विभिन्न विषयहरु छन् । बंगुरपालनको क्षेत्रमा केही सुधार गर्नु पर्ने अवस्थामा पनि छ । खासगरी किसानहरुलाई प्राविधिक ज्ञानमा केही कमी छ । गुणस्तरीय मासु उत्पादन गर्नु बंगुरको मासुका लागि टड्कारो विषय पनि हो । मुलुक भित्र प्रयोग होेस् वा निर्यातका लागि नै किन नहोस् । गुणस्तरीय मासु उत्पादन पहिलो आवश्यकता हो । त्यसका लागि यस व्यवसायलाई कसरी व्यवस्थित बनाउन सकिन्छ ? यसका समस्यालाई नीतिगत रुपमा नै कसरी निराकरण गर्न सकिन्छ भनेर सरोकारवाला निकायसँग सहकार्य गरेर अगाडि बढ्नु जरुरी देख्यौं । बंगुरको मासु उपभोगको प्रकृतिले सर्वव्यापी भएको छैन, जसरी अरु पशुपंक्षीको मासु सवैले प्रयोग गर्दछन् । बंगुर अझै पनि सवैले खाने स्थिति भईनसकेको र विस्तारै सामाजिक परिवर्तनले गर्दा यसमा पनि परिवर्तनका संकेतहरु देखिएका छन् । त्यसैले पनि थोरै मानिसहरुले उपभोग गर्ने बंगुरको मासुकाका विभिन्न परिकार बन्छन् त्यसको उपभोग गर्ने प्रबृत्तिलाई विकास गर्नु पर्दछ भन्ने सोले यो महोत्सव र कार्यशाला गोष्ठि समेत गर्न लागिएको हो ?
० जसरी बंगुरपालन व्यवसाय फस्टाउँदै छ त्यसैगरी व्यवसायीहरु निराश बन्न थालेका छन् भन्न् कुरा आईरहेको छ महोत्सवले कसरी सम्वोधन गर्ला त ?
त्यसकै लागि पनि यो महोत्सव आयोजना गरिएको हो । बंगुरपालन गर्ने किसानहरुको कुरा गर्ने हो भने धेरै किसानहरु यसप्रति उत्साहि देखिएका छन् । अझ भन्नु पर्दा युवाबर्ग बंगुरपालनप्रति उत्साहित देखिएका छन् । तर कतिपय किसानहरुले व्यवस्थित रुपमा पाल्न नसक्दा निराश बनेको पनि देखिन्छ । भएको बजारलाई अधिनमा राख्न नसकेका कारण यो अवस्था आएको छ । त्यसकारण यो पेशा निरन्तर विस्तार भएको छ र थुप्रै सम्भावनाहरु छन् । किसानका समस्याहरु पनि नभएका होइनन् । त्यसलाई समाधान गर्नका लागि पनि यस्तो महोत्सवले धेरै नै मद्दत पु¥याउँछ । किसान, व्यवसायी, उपभोेक्ता, विज्ञहरुको एउटै थलोमा जमघट गराएर यसलाई कसरी व्यवस्थित बनाउन सकिन्छ भन्ने कुराको महोत्सवले सम्वोधन गर्दछ जस्तो लाग्छ ।
० अझै यसले व्यवसायिक रुपमा लिन सकेन भन्ने पछि कुरा त आईरहेको छ नि त ?
त्यसका लागि प्रमुख कारण भनेको बंगुरपालन गर्ने किसानहरुमा नै भर पर्दछ । किसानहरुमा पनि परम्परागत रुपमा होइन व्यवसायिक रुपमा लैजान जरुरी छ भन्ने सोचको विकास हुनु पर्दछ र सेवा प्रदायक निकायहरु पनि किसानको समस्यामा गम्भीर हुनुपर्दछ । अर्कोकुरा अन्य व्यवसायीहरु जस्तै बंगुरपालन गर्ने व्यवसायीहरु पनि संगठित रुपमा बजारीकारणका लागि आफू लाग्ने हो भने यसले सजिलै व्यवसायिकता हासिल गर्न सक्छ ।
० बंगुरको बजारीकरणमा त धेरै नै समस्या छ किन होला ?
सवैभन्दा महत्वपूर्ण कुरा भनेको गुणस्तर हो । त्यसका लागि सरसफाईले पनि उत्तिकै महत्वपूर्ण स्थान लिन्छ । व्यवस्थित किसिमको सरसफाइ, दाना व्यवस्थापनदेखि मासु उत्पादन गर्दा अपनाउनु पर्ने मापदण्ड पूरा गरेको खण्डमा त्यस्तो समस्या आउँदैन उपभोक्ता र उत्पादनकर्तालाई जनचेतना अभिबृद्धि गर्ने र बंगुरको मासुको महत्वका विषयमा जानकारी गराउन सक्ने हो भने बजारीकरणको समस्या कहिले पनि हुँदैन ।
० त्यही बजार नभएका कारण नै किसानहरु मारमा परे भन्छन् त ?
त्यसो भन्दा पनि प्रशोधन उद्योगको खाँचो छ त्यसकारण हो भन्दा ठिक होला । अर्को कुरा उत्पादनको परिमाणलाई बृद्धि गर्नु पनि त्यत्तिकै आवश्यकता छ । वास्तवमा भन्ने हो भने समग्र बंगुरको मूल्ल श्रृखलालाई नै व्यवस्थित गर्नु पर्दछ । उत्पादन, बजारीकरण, प्रशोधन, गुणस्तर सवै कुरातर्फ ध्यान नदिएका कारण पनि यो अवस्था आएको हो । यदि बंगुरपालन व्यवसायलाई विकास गर्ने हो भने प्रशोधन प्लाण्टको व्यवस्था हुनु जरुरी छ ।
० विगतमा जनजातीहरुले बंगुरपालन गर्ने र फोहोर देखिने भएकाले पनि असर गरेको होला नि त ?
विगतका बर्षहरुलाई हेर्ने हो भने त्यो पनि एउटा कारण हो । हाल आएर सामाजिक सोचमा परिवर्तन भईसकेको छ । बंगुरको मासु प्रयोग गर्ने उपभोक्ताहरुको संख्या पनि बढ्दै गईरहेको छ । त्यसैले पनि बंगुर पालनमा युवाहरुको आकर्षण बढेको मात्र होइन मासुको माग पनि बढ्दै गईरहेको हो । -वैकुण्ठ भण्डारी

प्रकाशित मिति: मङ्लबार, पुस २९, २०७१