शनिबार, बैशाख १५, २०८१

अनुदान पाउछु भनेर बंगुरपालन गर्ने होइन

Loknatha paudle

डा.लोकनाथ पौडेल
वरिष्ट पशु विकास अधिकृत-पशु उत्पादन निर्देशनालय

० नेपालमा बंगुरपालनको अवस्था कस्तो छ ?
बंगुर आफैमा फलदायी र नाफामुखि व्यवसाय हो । किनभने यो चाँडै व्याउने र धेरै बच्चाहरु पाउने एवं बंगुरको मासु पनि स्वास्थ्यको लागि अत्यन्तै राम्रो भएको हुनाले बंगुरपालन व्यवसाय फस्टाउँदै गईरहेको छ । बंगुरपालन व्यवसायको सम्भावना पनि नेपालमा प्रशस्तै बढ्दै गईरहेको छ । आगामी दिनमा बंगुरको मासु भैसी वा राँगा पछि बाख्रा र कुखुराको जुन मात्रामा छ त्यही मात्रामा बंगुरको हुने सम्भावना देखिन्छ । वर्तमान अवस्थामा फस्टाउँदै गईरहेको बंगुरपालनलाई व्यवस्थित बनाउँदै लैजान सक्यो भने भविष्य पनि राम्रै छ ।
० बंगुरपालन व्यवसायिक रुपमा बढ्दै गईरहेको छ भन्छन् सत्य हो ?
विगतको तुलनामा हेर्ने हो भने पछिल्लो समयमा बंगुर पालन व्यवसायिक रुपमा नै बढ्दै गईरहेको छ । यसको उत्पादन पनि बढ्दै गईरहेका हामीले पाएका छौं । विगतमा जुन प्रयोजनले बंगुरपालन गरिन्थ्यो त्यो अहिले छैन । पूर्ण रुपमा व्यवसायिक भएर बंगुरपालन व्यवसाय फस्टाउँदै गएको सत्य हो यही अवस्थाले बंगुर पालन बढ्दै जाने हो भने चार पाँचबर्षभित्रै यसले ठूलो फड्को मार्ने सम्भावना मैले देखेको छु ।
० के कारणले बंगुरपालन फस्टाउँदै गएको जस्तो लाग्दछ ।
मुख्य कुरा के हो भने बंगुपालन अरु व्यवसाय भन्दा लगानी अनुसार राम्रो प्रतिफल दिने व्यवसाय हो । छोटो समयमा नै धेरै प्रतिफल दिने भएकाले पनि यो व्यवसाय फस्टाउँदै गएको जस्तो लाग्दछ । बंगुरको बच्चा जन्माउने समय जम्मा ११४ दिन छ भने एक पटकमा १२ देखि १५ वटासम्म बच्चा पाउने भएकाले बच्चा पनि राम्रै मूल्यमा विक्री गर्न सकिन्छ । यसको मासु पनि चाँडै नै बढ्छ । किसानहरुलाई राम्रो प्रतिफल दिने भएकाले पनि धेरैको आकर्षणको व्यवसाय बनेको छ बंगुरपालन । बंगुरलाइ घरमै खेर जाने चिजहरुलाई व्यवस्थापन गरेर पाल्न सकिने भएको र पछिल्लो समयमा मानिसहरुको खाद्य बानीमा पनि परिवर्तन आएको र मासु जन्य प्रयोग बढ्दै गएका कारण पनि बंगुरपालन व्यवसाय फस्टाउँदै गएको जस्तो लाग्छ ।
० तर मासुको बजारीकरणका लागि समस्या छ भन्छन् नि ?
बंगुरको मासुजन्य पदार्थका लागि बजारको समस्या छ जस्तो मलाई लाग्दैन । प्रशस्त मात्रामा यसको बजार छ । केवल नेटवर्किङ्ग नभएको कारणले मात्र हो । बंगुरपालन व्यवसाय गर्ने भनेर सवैले पाठापाठी उत्पादन गर्ने मात्र हो भने समस्या आउन सक्छ । त्यसकारण समस्या नआउनका लागि कसैले मासु प्रयोजनका लागि त कसैले पाठापाठी प्रयोजनका लागि बंगुरपालन गर्ने हो भने समस्या आउँदैन । अर्को कुरा हामीले बंगुरको मासु विदेश समेत निर्यात गर्न सक्न अवस्था छ ।
० अहिले बंगुरपालन गर्ने किसानहरु मासु उत्पादनका लागि बढी छन् कि पाठापाठीका लागि ?
अहिलेको अवस्थालाई हेर्ने हो भने तत्काल प्रतिफल दिने भएकाले धेरै किसानहरु पाठापाठी पालनतिर नै बढी आकर्षित भएको मैले अनुभव गरेको छु । सवै किसान पाठापाठी पालनतिर लागे भने राम्रो प्रतिफल लिन सक्दैनन् । त्यसकारण पनि विस्तारै पाठापाठीबाट मासु उत्पादनतिर पनि किसानहरु लाग्नुपर्ने अवस्था छ । मासुका लागि किसानहरु अगाडि बढ्नै पर्दछ र मात्र राम्रो प्रतिफल लिन सक्नु हुन्छ ।
० पोर्क महोत्सवले किसानलाई कत्तिको प्रभाव पर्ला त ?
हामीले विगतदेखि नै बंगुरपालन गर्ने किसानहरुका लागि सहयोग गर्दै आईरहेका छौं । अहिले पनि युवा लक्षित कार्यक्रमबाट किसानसम्म पु¥याउने अभियानमा छौं । त्यसकारण बंगुरपालन गर्ने किसानहरुका लागि यो महोत्सवले यको महत्वका बारेमा जानकारी गराउँदछ । भने बंगुरपालन क्षेत्रमा के कति काम भएका छन् के गर्न वाँकी छ बंगुरको महत्व कति रहेछ भन्ने कुरा पनि यो महोत्सवले दर्शाउँछ । बंगुरपालन गरिरहनु भएका र गर्न चाहने किसानहरुका लागि पनि अत्यन्तै फलदायी हुन्छ भन्ने विश्वास मैले लिएको छु ।
० बंगुरपालन गर्ने किसानहरुलाई के भन्नु हुन्छ ?
बंगुर पाल्यो भने अनुदान पाईन्छ भन्ने किसिमले बंगुरपालनका लागि अगाडि नसर्नुस् । तपाई मेहनत गर्नुस् दीगो रुपमा सोच्नुस् मनभित्रैबाट बंगुरपालन व्यवसाय गर्दछु भनेर अगाडि बढ्नु भो भने सफल हुनुहुन्छ । त्यसका लागि पशु उत्पादन निर्देशनालय हातेमालो गर्न तयार छ । -वैकुण्ठ भण्डारी

प्रकाशित मिति: आइतवार, पुस २७, २०७१