शुक्रबार, बैशाख १४, २०८१

एकै गाविसबाट ८२ लाखको तरकारी बिक्री

tarkariकञ्चनपुर, २० पुस । कञ्चनपुरको कृष्णपुर गाविसबाटमात्रै रु ८२ लाखको तरकारी बिक्री भएको छ । कृषि सेवा केन्द्र कृष्णपुरका अनुसार हिउँदे तरकारीका रूपमा रहेका काउली, टमाटर, खुर्सानी, भान्टा र हरियो सागपात यहाँका कृषकले बिक्री गरी सो रकम भित्र्याएका हुन् ।

व्यावसायिक रूपमा तरकारीखेती गर्ने कृषकको सङ्ख्यामा भएको बढोत्तरीसँगै तरकारीको बिक्रीमा वृद्धि भएको कृषि सेवा केन्द्र कृष्णपुरले जनाएको छ ।
तरकारीखेतीबाट अन्नबालीको तुलनामा बढी आम्दानी हुन थालेपछि कृषक व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित हँुदै गएका हुन् । गाविसको कुल खेतीयोग्य जग्गाको २८ हेक्टर क्षेत्रफलमा तरकारीखेती लगाइने गरिएको छ ।
जसको उत्पादन ४७६ मेट्रिकटन हुने गरेकामा कृषकले ४१० मेट्रिकटन तरकारी गाउँ घर, स्थानीय बजार र कैलालीको अत्तरिया बजार पु¥याएर बिक्री गर्दै आएका छन् । जसमध्ये यहाँ काउलीमात्रै १५ हेक्टर क्षेत्रफलमा २२५ मेट्रिकटन फल्ने गरेको छ ।
एक हेक्टर क्षेत्रफलमा तरकारीको उत्पादन १७ मेट्रिकटन हुने गरेको छ । हिउँदे मौसममा काउली र बन्दामात्रै बिक्री गरेर रु दुई लाख बढी आम्दानी गरेको कृष्णपुर–९ का कृषक बुद्धिराम डगौराले बताए । अझै बारीमा रु एक लाख मूल्यबराबरको काउली बिक्रीका लागि तयारी अवस्थामा रहेको उहाँले बताउनुभयो । यहाँका व्यावसायिक तरकारीखेतीमा संलग्न कृषकले वार्षिक रूपमा रु दुई लाखदेखि रु पाँच लाखसम्मको तरकारी बिक्री गर्दै आएका छन् ।
सात वर्षअघिदेखि व्यावसायिक रूपमा तरकारी खेतीमा संलग्न हँुदै आएका कृषक सन्तोषप्रसाद चौधरीका अनुसार तरकारी खेतीले यहाँका कृषकको जीवनस्तरमा निकै परिवर्तन आएको छ ।
कच्ची घरका ठाउँमा अधिकांशले पक्की घर ठड्याएका छन् भने तरकारी बोक्नका लागि साइकलको प्रयोग हँुदै आएकामा सबैले घरघरमा मोटरसाइकल राखेका छन्, उहाँले भन्नुभयो, “सिँचाइका लागि पम्पसेट र खेत जोत्नका लागि हाते र ठूला ट्र्याक्टर खरिद गरेका छौं, यो सबै तरकारी खेतीको कमाइले जोडिएको हो ।”
बीउ, मल र कृषि औजारमा अनुदान पाइन थालेपछि तरकारीखेती गर्ने कृषकको सङ्ख्या प्रतिवर्ष बढ्दै गएको कृषि सेवा केन्द्र कृष्णपुरका प्रमुख दिनबन्धु अर्यालले जनाए ।

प्रकाशित मिति: आइतवार, पुस २०, २०७१