शुक्रबार, बैशाख १४, २०८१

पर्वतमा कफी, लप्सी र सुन्तला महोत्सव सम्पन्न

फलेवास (पर्वत), १६ पुस । स्वदेशी उद्यमीका उत्पादनको मात्रै प्रदर्शनी गर्दै फरक ढङ्गले पर्वतमा आयोजना गरिएको चौथो कफी, लप्सी तथा सुन्तला महोत्सव सम्पन्न भएको छ । पुस ९ देखि आयोजना गरिएको महोत्सवमा करोडभन्दा बढीको कारोबार तथा लाखभन्दा बढी दर्शकलाई भित्र्याएर मङ्गलबार सम्पन्न भएको हो । महोत्सवमा लघु उद्यमीको मात्रै ५० लाख तथा सबै कारोबार गरी एक करोडभन्दा बढीको आर्थिक कारोबार भएको छ । एक लाखभन्दा बढी दर्शकले महोत्सव अवलोकन गरेको मुख्य आयोजक पर्वत जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी भीमबहादुर कुँवरले जानकारी दिनुभयो ।
‘महोत्सव सोचेभन्दा बढी सफल भएको छ’ उहाँले भन्नुभयोे ‘यसले आयोजकलाई ठूलो उत्साह मिलेको छ’ । महोत्सवमा १५० भन्दा बढी स्थानीय उत्पादनका कक्ष राखिएका थिए भने रमाइलो मेला र दैनिक रुपमा कलाकारको प्रस्तुतिले महोत्सवमा थप रौनकता थपिएको थियो । महोत्सव समापन समारोहमा बोल्दै प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ज्ञवालीले घरेलु तथा साना उद्यमको विकास गर्न सकेमा राष्ट्रिय अर्थतन्त्र सवल हुने विचार व्यक्त गर्नुभयो । उहाँले वैदेशिक रोजगारीका कारण मुलुकमा आर्थिक, सामाजिक र सांस्कृतिक समस्यासमेत सिर्जना भएको चर्चा गर्दै विदेश जाने युवालाई स्वदेशमा नै उद्यम सिर्जना गर्न सल्लाह दिनुभयो । ‘स्वदेशमा नै उद्यम गर्न सकेमा यहीँ आम्दानी गर्न सकिन्छ’ उहाँले भन्नुभयो ‘यसले विकृति पनि रोकिन्छ र राष्ट्रिय अर्थतन्त्र सवल बन्छ ।’ नेपाल घरेलु तथा साना उद्योग महासङ्घ पर्वतका संस्थापक अध्यक्ष हरिहर थापाले मुलुकको आर्थिक सम्वृद्धिका लागि घरेलु उद्यमको ठूलो भूमिका रहेको चर्चा गर्दै घरेलु उद्योगलाई राज्यले बेवास्ता गर्दा सङ्कटमा पर्दै गएको बताउनुभयो ।
नेकपा (एमाले) पर्वतका अध्यक्ष पदम गिरीले लघुउद्यमीका समस्या समाधान गर्दै यसको विकासका लागि राज्यले ठोस योजना बनाउन आवश्यक भएको बताउनुभयो । महोत्सव मूल आयोजक समितिका संयोजक शिव शर्मा पौडेल र पर्वतका स्थानीय विकास अधिकारी भीमबहादुर कुँवरको सभापतित्वमा सम्पन्न कार्यक्रममा पर्वत उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामकृष्ण कर्माचार्य, नेपाल पत्रकार महासङ्घ पर्वतका अध्यक्ष दुर्गाप्रसाद शर्मा, पर्वत जिल्ला विकास समितिका उद्यम विकास अधिकृत तुलसीराम शर्मा, लघुउद्यमी सङ्घ पर्वतका उपाध्यक्ष वुद्धि पुर्जालगायतले महोत्सवका बारेमा चर्चा गर्नुभएको थियो । समापन कार्यक्रममा महोत्सवका अवसरमा आयोजित भलिबल प्रतियोगिता, रत्यौली प्रतियोगिता, सुन्तला खाने प्रतियोगितामा विजयी हुनेलाई पुरस्कार र प्रमाणपत्र वितरण गरिएको थियो । महोत्सवको अन्तिम दिन दर्शकको ठूलो भीड लागेको थियो । ख्याति प्राप्त कलाकार राजन ठकुरी, रेस्मा सुनार, ज्योति लोहनी, कृष्ण अखेली, तुलसा जिसीलगायतको दोहोरी र प्रस्तुतिले दिनभर दर्शकलाई मनोरञ्जन दिएका थिए ।

प्रकाशित मिति: बुधबार, पुस १६, २०७१