शुक्रबार, बैशाख १४, २०८१

कृषक महिला तोरीखेतीतर्फ आकर्षित

महोत्तरी, १४ पुस । यस जिल्लाका कृषक महिला तोरीखेतीतर्फ आकर्षित भएका छन् । तेलहन बालीमा आत्मनिर्भर बनाउने उद्देश्यले पुरुषसँगै महिला कृषकसमेत यसमा सहयोगी बन्न थालेका हुन् । जिल्लाको गोनरपुरा, महोत्तरी, पिपरा, मझौरा विशनपुर तथा धिरापुर गाविसका २५० कृषकले ४० बिगाहामा तोरीखेती लगाएका छन् । राष्ट्रिय कृषि अनुसन्धान परिषद्को सहयोगमा अधिकांश कृषक महिलालाई प्राविधिक सहयोग तथा बीउ र कृषिजन्य औजारको चाँजोपाँजो महोत्तरी दलित जनजाति उत्थान सङ्घले मिलाएको अध्यक्ष श्यामसुन्दर दासले बताउनुभयो । जिल्ला कृषि विकास कार्यालयका प्राविधिकसँगै स्वतन्त्र विज्ञलाई समेत समय समयमा स्थलगत समस्या सुनाएर समाधान दिइने व्यवस्था मिलाइएको सङ्घका अध्यक्ष दासले बताउनुभयो ।
तोरीखेतीमा कमी आउन थालेपछि यस क्षेत्रमा भारतीेय खानेतेल तथा पिनाको आयात अत्यधिक हुने गर्दछ । पहिले यस क्षेत्रमा ठूलाठूला तेल पेल्ने मेसिन हुनुका साथै स्थानीय उत्पादनमै निर्भर भई भारतीय क्षेत्रमा समेत तोरी निर्यात हुने गरेको थियो । लाही (झुल्से) किराको नियन्त्रण गर्न नसकेकै कारण धेरै किसानले तोरीखेतीबाट हात झिकेका थिए । सबैभन्दा बढी तेलमा मिसावट हुने गरेको खबरले त्रसित भएपछि तोरीखेती गर्ने उत्साह बढेको अङ्कुसी कृषक समूहका अध्यक्ष विन्देश्वर कापरले बताउनुभयो । रासायनिक मलको विकल्पमा पिनाको प्रयोग लाभदायक हुने गरेको मिथिला कृषक समूहका अध्यक्ष फुकनी देवीले बताउनुभयो । बाली संरक्षण विज्ञ रामविलास ठाकुरका अनुसार तोरीखेती राम्रो भएमा प्रतिकट्ठा ६० किलोग्रामसम्म उत्पादन हुने गर्दछ । प्रतिकट्ठा कम्तीमा तीनसयग्राम बीउ लाग्ने गर्दछ । तोरीखेती गर्ने कृषकलाई, बीउ मलसँगै औषधि छर्किने मेसिन, कोदालो, त्रिपाल, खुर्पा, हँसियासहितका सामग्री सहयोग गरिसकिएको महोत्तरी दलित जनजाति उत्थान सङ्घका सदस्य लक्ष्मण मण्डलले बताउनुभयो ।

प्रकाशित मिति: सोमवार, पुस १४, २०७१