बुधबार, बैशाख १२, २०८१

टेकबहादुर बने बङ्गुरपालनबाटै करोडपति

इलाम, १४ पुस । पूर्वी इलामका युवा बङ्गुरपालनलाई व्यवसाय बनाएर आर्थिक उन्नति गर्न सफल भएका छन् । बङ्गुुरपालनबाटै करोडपति बनेका युवाले विदेशभन्दा स्वदेशमै सीप प्रयोग गरेर देखाएका छन् । सूर्योदय नगरपालिका–५ केराबारीका किसान टेकबहादुर राईले साङ्पाङ बङ्गुुर फार्म सुरु गरेको पाँच वर्षमात्र भएको छ । उनले हालसम्मको अवधिमा करिब रु एक करोड २० लाख जतिको सम्पत्ति आर्जन गरिसकेका छन् । उन्नत जातको बङ्गुुरपालन गरेर पाठापाठी बेच्ने लक्ष्यसहित सुरु गरिएको बङ्गुुर फार्मबाट हाल वार्षिक रु ४० लाखसम्म आम्दानी लिन उनी सफल भएका छन् ।
जागिरका लागि राजधानी गएका उनले आफ्नै गाउँमा आएर यो व्यवसाय सञ्चालन गरेका हुन् । सुरुमा स्थानीय सहकारीमार्फत रु ४० हजार ऋण लिएर सुरु गरेको व्यवसाय विस्तार भएर हाल ६० माउ र करिब डेढ सय हाराहारीमा पाठापाठी रहेका छन् । यस्तै जिल्ला कृषि विकास कार्यालयमार्फत युवा स्वरोजगार कार्यक्रमबाट रु ६२ हजार पाएका उनले थप फार्म विस्तारमा लगाएका छन् । रु चार हजारदेखि रु छ हजारसम्ममा पाठापाठी बिक्री गर्ने गरेका राईले नौ, दश मन (३६० किलोदेखि ४०० किलो) सम्मको बङ्गुुर उत्पादन गरी बिक्री गर्ने गरेका छन् । उनले पालेको एउटा बङ्गुुर रु ७० हजारमा बिक्री भएको छ । हेमसार, योगसार, ड्युरोक जातका उन्नत बेलायती बङ्गुुरपालन गर्दा प्रशस्त आम्दानी लिन सकिने किसानको अनुभव छ । टेकबहादुरले पछिल्लो समय वैदेशिक रोजगारीमा जान लागेका युवालाई सकेसम्म विदेश नगई नेपालमै कुनै व्यवसाय गरेर जीवन चलाउन सहज हुने सल्लाहसमेत दिने गरेका छन् । रासस

प्रकाशित मिति: सोमवार, पुस १४, २०७१