आइतवार, बैशाख १६, २०८१

कृषकले घाँसको बीउ पाएनन्

कपिलवस्तु, २८ मंसिर । बीउबिजन विक्रेताले टेन्डर दर्ता नगराउँदा जिल्ला पशुसेवा कार्यालयअन्तर्गत कृषकलाई निःशुल्क वितरण गरिने घाँसको बीउ कृषकले पाउन सकेका छैनन् ।

बजार मूल्यभन्दा कम दरमा घाँसको बीउबिजन घटी घटाउमा कार्यालयलाई आपूर्ति गर्नुपर्ने भएका कारण बीउबिजन विक्रेताले टेन्डर हालेका छैनन् । उनीहरूले टेन्डर दर्ता नगराउँदा कृषकले निःशुल्क रूपमा पाउने घाँसको बीउ यस वर्ष नपाउने भएका हुन् ।
कार्यालयले लगातार तीन पटकसम्म सार्वजनिक सूचना प्रकाशित गरी जै, बर्सिम, भेंचलगायत जातका घाँसको बीउ खरिदका लागि टेन्डर आह्वान गर्दासमेत कुनै व्यवसायीले टेन्डर दर्ता गराएका छैनन् । टेन्डर दर्ता नगराउँदा कार्यालयको राष्ट्रिय पशु आहारा विकास अभियान कार्यक्रमअन्तर्गत विनियोजन गरिएको रु नौ लाख ९१ हजारको घाँस बीउ वितरण कार्यक्रमको बजेट नै फ्रिज हुन सक्ने सम्भावना बढेको छ ।
जिल्लामा दर रेटअनुसार जै ४० रुपैयाँ प्रतिकेजी, वर्सिम २५० रुपैयाँ प्रतिकेजी खरिद मूल्य कायम छ । तर बजारमा जै १०० रुपैयाँ प्रतिकेजी, वर्सिम ३०० रुपैयाँ प्रतिकेजीमा बिक्री वितरण भइरहेको छ ।

प्रकाशित मिति: आइतवार, मंसिर २८, २०७१