शनिबार, बैशाख १५, २०८१

प्याक्टको अनुदान अनुगमन ढिलाई भएको आरोप

रौतहट,१४ मंसिर । किसानहरुलाई परम्परागत कृषिबाट व्यवसायिकतातिर अगाडि बढाउने भन्दै कृषि विकास मन्त्रालय मातहत सञ्चालन भएको व्यवसायिक कृषि तथा व्यापार आयोजनाले तेस्रो चरणको अनुदानका लागि जिल्लाका दर्जन भन्दा बढी कृषि फार्महरुले पेश गरेको अवधारणा पत्र स्वीकृत भएको भएपनि तत्पश्चात कुनै प्रक्रिया अगाडि बढ्न नसकेकोमा किसानहरु चिन्तित हुन थालेका छन् ।
सो आयोजनाको अनुदान प्राप्त गर्नका लागि अवधारण पत्र तथा प्रस्ताव लेखनमा मात्र ५० हजार खर्चिएका व्यवसायिक फार्महरुको अवधारणा पत्र स्वीकृत पश्चात गरिने फिल्ड अनुगमनमा कार्यालयले चासो नदिएको भन्दै किसानहरु आक्रोशित बन्दै गएका छन् ।
आफ्नो फार्ममा फिल्ड अनुगमन गर्न कहिले आउँछ भन्दै जिल्लामा रहेको कृषि तथा पशु कार्यालय धाउन थालेका किसानहरु कार्यालयबाट सहि सूचना नपाएपछि आयोजनालाई नै आरोप लगाउन थालेका छन् । जिल्लामा रहेका कार्यालयले क्षेत्रीय कार्यालयहरुले गर्ने भएकाले आफूहरुलाई थाहा नभएको अवधारण पत्र स्वीकृत भएका एक व्यवसायीले नाम नबताउने शर्तमा भनेका छन् । अलि अलि भएपनि रकम पाउने आशामा प्रस्ताव पेश गरियो छ महिना वितिसक्दा पनि आयोजनाको अत्तोपत्तो छैन उनको आरोप छ ।

प्रकाशित मिति: आइतवार, मंसिर १४, २०७१