बिहिबार, बैशाख १३, २०८१

दर्जन पुरानो जातको धानबाली लोप

काभ्रे, १५ मङ्सिर । काभ्रेपलाञ्चोक जिल्लामा झन्डै एक दर्जन पुरानो जातको धानबाली लोप भएको छ । समयको परिवर्तनसँगै आएका नयाँ जातका हाइब्रीड र रासायनिक मलका कारण गाउँमा नै मगमग बास्ना आउने पुराना जातका धानबाली लोप भएको जिल्ला कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

त्यसको विकल्पमा कृषकले नयाँ हाइब्रीड जातका धानको खेती गर्न थालेको उल्लेख गर्दै कृषि कार्यालयले त्यसको अभिलेखीकरण सुरु भएको जनाएको छ ।
काभ्रेपलाञ्चोकको पाँचखालमा पाइने छोटे मार्सी, कालो मार्सी, काठे, अनदी, थापा चिनियाँ, महाकाल गाविसमा पाइने रातो मार्सी, खहरे पागु गाविसमा पाइने पहोलो मार्सी, कालो मार्सी लगायत विभिन्न जातका धान लोप भएको कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकका बाली विकास अधिकृत थर्कबहादुर जिसीले जानकारी दिएका छन् । उनका अनुसार ०४५ सालदेखि यी प्रजातिका धानको खेती हुन छाडेको थियो ।
उतिबेला यसको पर्याप्तमात्रामा उत्पादन हुन्थ्यो र त्यसबाट नै जीविकोपार्जन भएको थियो बाली विकास अधिकृत जिसीको भनाइ छ ।
उनले लोप भएका बालीका बारेमा अनुसन्धान भइरहेको र ती बालीलाई संरक्षण गर्ने कार्यक्रम ल्याउन लागिएको बताए ।

प्रकाशित मिति: सोमवार, मंसिर १५, २०७१