शुक्रबार, बैशाख २१, २०८१

दक्षिण एसियाका ३५ करोड किसान भोकमरीमा

काठमाडौं, मंसिर १० । दक्षिण एसियाका ३५ करोडभन्दा बढी किसान गरिबी र भोकमरीको चपेटामा बाँच्न विवश छन्। दक्षिण एसियाका आठ राष्ट्रमा बस्ने एक अर्ब ७० करोड जनसंख्यालाई खाद्यान्न जोहो गर्ने यस क्षेत्रका एक अर्ब दुई करोड किसानमध्ये ३४ प्रतिशत गरिबी र भोकमरीबाट पीडित छन्।
विश्व बंैकका अनुसार दक्षिण एसियाको कुल जनसंख्यामध्ये ६० प्रतिशत कृषिमा आश्रित छन्। यस क्षेत्रका जनतालाई गरिबी र भोकमरीको चपेटाबाट बचाउन र खाद्य सुरक्षा प्रदान गर्न दक्षिण एसियाली सहयोग संगठनक (सार्क) का राष्ट्र प्रमुखले सार्क बीउ भण्डार तथा सार्क खाद्यान्न भण्डार स्थापनाजस्ता नीतिगत निर्णय नगरेका होइनन्। तर, सार्कका किसानलाई नै लक्षित गरेर उनीहरूको जीविकोपार्जन सहज बनाउन भने सरकारी स्तरबाट प्रभावकारी काम भएको छैन। bhikmari
बहुराष्ट्रिय कम्पनीका बीउबिजनले माटोमा उर्वराशक्ति बिगार्ने र स्थानीय बीउबिजन लोप हुने खतरा त्यत्तिकै छ। ‘हाम्रा स्थानीय बीउको विनाशपछि दक्षिण एसियाली किसान कृषिमा बहुराष्ट्रिय कम्पनीमाथि भर पर्नुपर्ने हुन्छ’ किसान भन्छन्। ‘उनीहरू आफ्नो खाद्य स्वतन्त्रता तथा सम्प्रभुता नगुमाउन प्रतिबद्ध छन् र आ-आफ्ना सरकारलाई सचेत पनि गराउन चाहन्छन्।
दक्षिण एसियाका आठ राष्ट्रमा बस्ने एक अर्ब ७० करोड जनसंख्यालाई खाद्यान्न जोहो गर्ने यस क्षेत्रका एक अर्ब दुई करोड किसानमध्ये ३४ प्रतिशत गरिबी र भोकमरीबाट पीडित छन्।
भारतकी किसान मञ्जु तिवारीका अनुसार दक्षिण एसियाका आठै राष्ट्रका किसान उस्तैउस्तै समस्याबाट पीडित छन्। उनी भन्छिन् ‘दक्षिण एसियाका किसानले न्यून उत्पादन, जलवायु परिवर्तनका कारणले आउने बाढीपहिरो, सुक्खा, अतिवृष्टि एवं अनावृष्टि, बजारसम्मको पहुँच समस्या, वित्तीय पहुँचमा कमी एवं कृषिमा व्यवसायीकरण अभावजस्ता उस्तैउस्तै प्रकृतिका समस्या भोगिरहेका छन्।’ महिला तथा साना किसान बढी पीडित रहेको उनको अनुभव छ। ‘सबैभन्दा बढी गरिबी एवं भोकमरीबाट महिला तथा साना किसान बढी पीडित छन्’ उनी भन्छिन्।
दक्षिण एसियाली राष्ट्र प्रमुखको यसै साता हुने १८ आंै शिखर सम्मेलनमा किसानका मुद्दालाई उठाउन जोड दिने उद्देश्यले काठमाडौंमा जम्मा भएका भारत, बंगलादेश, पाकिस्तान र नेपाली किसान कृषिलाई नै आर्थिक प्रगतिको आधार नबनाएसम्म दक्षिण एसियाली किसानको उन्नति नहुने ठोकुवा गर्छन्। ‘किसानले अन्न उब्जाउँछ तर किसान नै गरिबी र भोकमरीबाट पीडित छन्’, उनीहरू भन्छन् ‘योभन्दा ठूलो विडम्बना के हुन सक्छ।’
पूर्वराजदूत गणेश लामा अग्र्यानिक कृषिमा जोड दिनुपर्ने बताउँछन्। ‘कृषि प्रधान देश नेपालीका किसान नै गरिब छन्, उनी भन्छन्, ‘कृषिलाई सम्मानित पेसाको रूपमा स्वीकार्न युवालाई उत्साहित नगरेसम्म नेपालको कृषि व्यापारघाटा बढी नै रहन्छ।’ उनका अनुसार कृषिबाट नै ग्रामीण अर्थतन्त्र बलियो हुन्छ।
आयात प्रतिस्थापन गर्न र व्यापार घाटालाई कम गर्न पनि कृषिमा जोड दिएर किसानलाई प्रोत्साहित गर्न आवश्यक छ।
दक्षिण एसियाका विभिन्न सरकारले किसानलाई संरक्षण गर्ने नीति त लिएका छन्। तर, ती नीतिको फाइदाबाट भने किसान वञ्चित छन्। ‘बजारसम्म किसानको पहुँच नभएकोले बिचौलियाले फाइदा लिइरहेका छन्’ किसान भन्छन्, ‘किसान जो मेहनत गर्छन् उनीहरू नै गरिब हुनु भनेको यस क्षेत्रका सरकारको नीतिगत असफलता हो।’
पाकिस्तान, बंगलादेश, भारत र नेपालका किसानको पीडा उस्तैउस्तै रहेका अनुभव उनीहरूको छ। किसान भन्छन्, ‘जबसम्म दक्षिण एसियाका जनताबीचको सम्बन्ध किसान, निजी क्षेत्र तथा अन्य सबै वर्ग र पेसाबीच सहज रूपमा आदानप्रदान हुँदैन तबसम्म दक्षिण एसियामा गरिबी, भोकमरी र आर्थिक विकास हुन असम्भव छ।’

-राजेन्द्र देवकोटा

प्रकाशित मिति: बुधबार, मंसिर १०, २०७१