बिहिबार, बैशाख २०, २०८१

प्राङ्गारिक जैविक मल उत्पादनका लागि ‘नयाँ कृषि अभियान’

कञ्चनपुर, २४ कात्तिक । माटोको उर्वरा शक्तिमा आइरहेको ह्रास न्यूनीकरण गरी बालीको उत्पादकत्व बढाउनका लागि प्राङ्गारिक जैविक मल उत्पादनका लागि अखिल नेपाल किसान महासङ्घ कञ्चनपुरले अभियान सञ्चालन गर्ने भएको छ । ‘कृषिमा नयाँ कृषि अभियान’ नारा लिएर महासङ्घले कृषकलाई प्राङ्गारिक मल उत्पादनका लागि सचेतना प्रदान गर्न अभियान सञ्चालन गर्न लागेको हो । गाउँ–गाउँमा पुगेर प्राङ्गारिक मलको प्रयोगले पु¥याउने फाइदाका बारेमा कृषकलाई जानकारी दिई मल उत्पादनका लागि उत्प्रेरित गरिने अभियानको लक्ष्य रहेको महासङ्घका खेम सुवेदीले बताउनुभयो । अत्यधिक रुपमा कृषकले खेतबारीमा रसायनिक मल र विषादीको प्रयोगलाई बढावा दिइरहँदा माटोमा अम्लीयपनको मात्रा बढ्दै गएको र उर्वराशक्ति ह्रास हुँदै गएकाले महासङ्घले प्राङ्गारिक मल उत्पादनमा जोड दिने निर्णय गरेको उहाँले उल्लेख गर्नुभयो ।
रसायनिक मल र विषादीले मानव स्वास्थ्यमा समेत गम्भीर असर गर्ने भएकाले यसको न्यूनीकरण गर्नुपर्ने महासङ्घका स्थायी कमिटी सदस्य भोजराज जोशीले बताउनुभयो । अभियान सञ्चालन गरेर कृषकमा जागरण पैदागरी अनावश्यक रसायनिक मलमा खर्च हुने पैसा बचत गरी कृषकले घरमै प्राङ्गारिक मल उत्पादन गर्न सकिने छ । – कृसा

प्रकाशित मिति: सोमवार, कार्तिक २४, २०७१