शुक्रबार, बैशाख ७, २०८१

खोरेत रोगविरुद्ध खोप अभियान

इलाम, २४ कात्तिक । पशुमा लाग्ने खोरेत रोग लाग्न नदिन जिल्ला पशुसेवा कार्यालयले खोप अभियान सञ्चालन गरेको छ ।

खोरेत रोग लाग्नबाट बचाउन र यस रोगलाई जिल्लामै भित्र्न नदिन कार्यालयले गाईभैँसीमा कात्तिक तेस्रोसातादेखि खोप लगाउन थालेको हो ।
सीमावर्ती क्षेत्रका पशुबाट हैजाका रूपमा देखिने यो रोग नलागोस् भनेर बेलैमा दक्षिणी झापा र पूर्वाेत्तर भारतीय सीमा क्षेत्रका र मेचीराजमार्ग आसपासमा पर्ने गाविसका गाईभैँसीमा खोप लगाउन थालिएको जिल्ला पशुसेवा कार्यालयका प्राविधिक डिकबहादुर कार्कीले जानकारी दिनुभयो । खोप अभियान एक महिनासम्म चल्ने छ ।
गाईभैँसी, बाख्रा, बङ्गुरको खुरबाट एकआपसमा सर्नाले गत वर्ष जिल्लाको जमुना, जोगमाई, गोर्खेमा ठूलो क्षति भएकाले बेलैमा सजगता अपनाएको कार्यालयले जनाएको छ । मेची राजमार्गअन्तर्गत कोल्बुङदेखि राँके बजारसम्मको करिब ५०० मिटर तलमाथिका पशुमा खोरेत रोग विरुद्धको भ्याक्सिन लगाउन थालिएको छ ।
यस्तैगरी दक्षिणी सीमावर्ती चुलाचुली, शान्तिपुर, दानाबारी, जिर्मलेलगायत जमुना, जोगमाई, गोर्खे गाविसको उत्तरी भेगमा पशुमा खोरेत रोग विरुद्धको खोप लगाइने प्राविधिक कार्कीले बताउनुभयो । चुलाचुलीमा शनिबार करिब ३०० गाईभैँसीमा खोरेत रोग विरुद्धको खोप लगाइएको छ ।

प्रकाशित मिति: सोमवार, कार्तिक २४, २०७१