बिहिबार, बैशाख २०, २०८१

धान उत्पादनमा चालीस प्रतिशत कमी

रुकुम, १७ कात्तिक । जिल्लामा सबैभन्दा बढी उत्पादन क्षमता भएको चौरजहारी उपत्यकामा धान उत्पादन घटेको छ । कृषि सेवा केन्द्र चौरजहारीका अनुसार विगतको तुलनामा यस वर्ष ३५ देखि ४० प्रतिशतसम्म धान उत्पादन घटेको छ । ढिलो गरी वर्षा सुरु भएपछि कृषकले समयमै धान रोप्न नपाउँदा धान उत्पादनमा कमी आएको बताइएको छ । असारको तेस्रो साता पानी पर्न सुरु गरेको भए पनि साउनको अन्तिम सातामात्र चौरजहारीमा धान रोपाइँको काम सम्पन्न भएको थियो । चौरजहारी टार सिँचाइ नहरको पानीले करिब एक हजार ५०० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको छ । सुरुमा मुहानतिर र त्यसपछि मात्र चौरजहारी क्षेत्रमा कृषकले धान रोप्ने गरेका छन् । नहर जीर्ण बनी खेतसम्म आवश्यक मात्रामा पानी पु¥याउन समस्या हुुनुका साथै आकाशबाट समेत पर्याप्त पानी नपर्दा धान उत्पादनमा कमी आएको विजयश्वरी–६ स्यालखोलाका कृषक रतिराम बटालाले बताउनुभयो ।
सिँचाइको अभावमा राम्रोसँग धान नफलेर नै बोट सुकेको कृषकको भनाइ छ । समयमै वर्षा नहुँदा कृषकले ढिलो गरी बूढो बेर्ना रोप्नुपर्दा धान उत्पादनमा कमी आएको कृषि सेवा केन्द्र चौरजहारीका प्रमुख बुद्धिबहादुर ओलीले बताउनुभयो । जहारीखोला क्षेत्रलगायत अन्य ठाउँहरूमा भने धान उत्पादनमा कमी नआएको कार्यालय प्रमुख ओलीको भनाइ छ । रासस

प्रकाशित मिति: सोमवार, कार्तिक १७, २०७१