बुधबार, बैशाख २६, २०८१

तीन जनालाई राष्ट्रपति उत्कृष्ट पुरस्कार प्रदान

इलाम, १७ कात्तिक । पारिवारिक खेती वर्ष ‘सबैलाई खुवाऔँ, पृथ्वीलाई जोगाऔँ’ भन्ने नाराका साथ इलाममा आज ३४ औँ विश्व खाद्य दिवस मनाइएको छ । दिवसका अवसरमा जिल्ला कृषि विकास कार्यालय इलामले इलामका तीन जना कृषकलाई राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार प्रदान गरेको छ । कार्यालयले सुलुबुङ–५ का तारामणि खतिवडा, सूर्याेदय नगरपालिका–५ का टेकबहादुर राई र सोही नगरपालिका वडा नं १ का मदनकुमार राईलाई जनही रु १० हजार पुरस्कार र सम्मानपत्र प्रदान गरेको हो । पुरस्कृत कृषकमध्ये खतिवडाले विगत पाँच वर्षदेखि व्यावसायिक किवी फलको खेती गर्दै आउनुभएको छ । त्यस्तै टेकबहादुर राईले व्यावसायिक रूपमा बङ्गुरपालन र मदनकुमार राईले व्यावसायिक तरकारीखेती गर्दै आउनुभएको छ ।
स्थानीय विकास अधिकारी मदन कोइराला र सहायक प्रमुख जिल्ला अधिकारी सुजन फागोले उहाँहरूलाई पुरस्कार र प्रमाणपत्र प्रदान गर्नुभएको थियो । सोही कार्यक्रममा खाद्य दिवसका अवसरमा आयोजित अन्तर मावि निबन्ध प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगितामा आदर्श उच्च माविकी रोजिना बस्नेत प्रथम, अमर उच्च मावि बरबोटेकी भावना भण्डारी द्वितीय, ज्योति विद्या मन्दिरकी मुना खनाल तृतीय र सोही विद्यालयका जोशित बस्नेत सान्त्वना घोषित भएको थिए । रासस

प्रकाशित मिति: सोमवार, कार्तिक १७, २०७१