आइतवार, बैशाख २३, २०८१

बेमौसमको असिनापानीले धानमा क्षति

त्रिशूली (नुवाकोट), ९ कात्तिक । बेमौसममा परेको असिनापानीले यहाँका विभिन्न फाँटमा लगाइएको धानबालीमा क्षति पुगेको छ । शनिबार र आज अपराह्न परेको असिनापानीले जिल्लाका अधिकांश किसानको खेतमा पाकेर भित्र्याउने बेला भएको धानमा क्षति पुगेको हो । असिनापानीका कारण किसानले काट्न ठीक पारेको र काटेर सुकाएको धानमा असिनाले क्षति पु¥याउँदा जिल्लाका विभिन्न गाविसका किसान चिन्तित बनेका छन् ।
असिनापानीले तारुका गाविसका विभिन्न फाँटमा लगाइएको धानमा ठूलो क्षति पुगेको छ । गाविसका पसमखेल फाँट, खानीफाँट, कौसिनीफाँट पारिखेतफाँटलगायतमा काट्न ठीक पारेको धान असिनापानीले नष्ट भएको स्थानीय शिक्षक शिवराम ढुङ्गानाले बताउनुभयो । उहाँका अनुसार धानसहित कोदोसमेत नष्ट भएको छ । गाविसका तीन हजार रोपनी जग्गामा लगाइएको धानबालीमा क्षति पुगेको छ । यस्तै बुधसिं गाविसका सिंगाले फाँट, अम्बटे फाँट, छत्रेफाँटलगायतमा पनि असिनापानीले क्षति पु¥याएको छ । चतुराले गाविसमा पनि असिनापानीले क्षति पुगेको छ । असिनाले काहुलीलगायत तरकारी खेतीमा समेत क्षति पुगेको छ । असिनाका कारण चतुराले गाविसमा ३० प्रतिशत धान उत्पादन घट्ने अनुमान स्थानीयवासीले गरेको शिक्षक नवराज पाठकले जानकारी दिनुभयो ।

प्रकाशित मिति: आइतवार, कार्तिक ९, २०७१