शुक्रबार, बैशाख २१, २०८१

मौरीपालन व्यवसाय विस्तार

बागलुङ, १३ असोज । बागलुङमा पछिल्लो समय व्यावसायिक मौरीपालन गर्ने क्रम बढेको छ । बर्सेनि जिल्लामा मौरीपालन व्यवसाय विस्तार हुँदै गएको छ । सानो लगानी र व्यवस्थापनमा मनग्य आम्दानी हुने भएपछि कृषक मौरीपालनतिर आकर्षित भएका हुन् ।

जिल्लाभर अहिले चार हजार ६८६ घारमा मौरीपालन भइरहेको जिल्ला कृषि विकास कार्यालय बागलुङले जनाएको छ । मौरीपालनको लागि यस जिल्लाको हावापानी उपयुक्त भएकाले पनि यो व्यवसाय विस्तार हुँदै गएको वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजालले बताउनुभयो ।
दुई वर्षअघि चार हजार २८६ घारमा मौरीपालन गरिएकामा गत आर्थिक वर्षमा थप ४०० गरी चार हजार ६८६ घारमा मौरीपालन गरिएको थियो । अघिल्लो आर्थिक वर्षमा २५ मेट्रिक टन मह उत्पादन भएको कृषि कार्यालयले जनाएको छ ।
चालु आवमा महको उत्पादन अझै बढ्ने जनाइएको छ । “मौरीपालनका लागि बागलुङ जिल्ला उपयुक्त छ, यहाँका दर्जनौँ गाविस त मौरीपालनका लागि पकेट क्षेत्र नै घोषित भएका छन्”, अधिकृत रिजालले भन्नुभयो ।
कार्यालयले अनुदानमा आधुनिक मौरीघार, महदानी, घुम्टी, आधारचाका, पञ्जालगायतका उपकरणसमेत कृषकलाई दिने गरेको छ । त्यसबाहेक सेवा केन्द्र, जिल्ला र क्षेत्रीयस्तरका तालिममा पनि पठाउने गरेको छ ।

यसै आर्थिक वर्षमा ४०० आधुनिक मौरी घार, पाँच महदानी, १०० घुम्टी (टोपी), १०० पञ्जा र १० केजी आधारचाका कृषकलाई प्रदान गर्ने लक्ष्य लिइएको अधिकृत रिजालले जानकारी दिनुभयो । प्रतिमौरीघार २५ प्रतिशत अनुदान र सेवा केन्द्रसम्मको निःशुल्क ढुवानी सेवा कृषकलाई प्रदान गर्ने गरिएको छ । कृषि कार्यालयले दुई हजार ४०० मा खरिद गर्ने मौरीघार कृषकले एक हजार ८०० मा प्राप्त गरेका छन् ।

प्रकाशित मिति: सोमवार, अशोज १३, २०७१