शुक्रबार, बैशाख २१, २०८१

मासु प्रदर्शनिमा अष्ट्रिचको माग बढ्दो

बुटवल, १० असोज । मासु व्यवसायी सङ्घ रुपन्देहीले नेपालीहरुको महान् पर्व विजयादशमीको अवसर पारेर यस क्षेत्रमै पहिलोपटक बुटवलमा बिहीबारदेखि ‘दसैँ खसी बजार’ सञ्चालन गरेको छ । यो मेला बडादसैँको महाअष्टमीसम्म लाग्ने छ ।
मासु तथा मासुजन्य पशुपक्षी परेवादेखि अष्ट्रिच र खसीबोकादेखि भेँडा च्याङ्ग्रासम्मको मासु तथा मासुजन्य पशुपक्षी एकैथलोबाट किनमेल गर्न सक्ने गरी मासु व्यवसायी सङ्घले बुटवलमा पहिलोपटक यस्तो बजार सञ्चालन गरेको हो । यस बजारमा राखिएको मासु मध्यअष्ट्रिचको मासु किन्नेहरुको  अत्यन्तै भीड लागेको छ । बजारमा बेच्न राखिएको अष्ट्रिचको मासुको अत्यधिक बिक्रिले सोचे भन्दा फरक परिणाम आएकाले आपूmहरु उत्साहित भएको अष्ट्रिच नेपालका सीपी शर्माले कृषि अनलाईनलाई बताए । मेलामा बेचबिखन गरिने मासुजन्य पक्षी तथा पशुको स्वास्थ्य जाँच गर्नेसम्मको व्यवस्था गरिएको मासु व्यवसायी सङ्घका अध्यक्ष कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।मेलामा १२ हजारभन्दा बढी खसीबोका, करिब एक हजार मुस्ताङलगायत पहाडी भेगका च्याङ्ग्रा, करिब १२ टन अष्ट्रिचको मासु र १० टन माछा राखिने व्यवसायीले बताएका छन् ।
मेलामा मुस्ताङलगायत मुलुकका विभिन्न पहाडी जिल्ला र भारतसम्मका मासुजन्य पक्षी र पशुहरु राखिनेछन् । यसको अनुगमनको समेत व्यवस्था गर्ने गरी जिल्ला पशुसेवा कार्यालयले अलग्गै हेल्थ डेक्स स्थापना गरेको छ ।मासुका व्यापारीभन्दा पनि मासुजन्य पशु र पक्षीका उत्पादक किसानलाई बेचबिखनको अवसर र माध्यमका रुपमा मेलाको आयोजना गरिएको अध्यक्ष पौडेलले जानकारी गराउनुभयो ।मेलामा उपभोक्ताको हितलाई ध्यानमा राखेर पशु तथा पक्षीको मूल्य तोकिने सङ्घका महासचिव वीरेन्द्र रानाले बताउनुभयो । मेलामा रुपन्देहीका विभिन्न क्षेत्रका तथा मुस्ताङदेखि गुल्मी, पाल्पा, सुर्खेत र नेपालगन्जसम्मका किसान र थोक व्यापारीहरुका कक्ष राखिएका छन् । भारतबाट आएका किसान र केही थोक व्यापारीले समेत त्यस्ता कक्ष राखेका छन् । रुपन्देहीमा दैनिक करिब ७० टन मासु खपत हुने गर्छ । जसमध्ये कुखुराको मासु मात्र २५ टन आवश्यक पर्छ । मासुका लागि जिल्लाको उत्पादनले ३० प्रतिशत धान्ने गरे पनि  बाँकी ७० प्रतिशत भारतबाट आयात हुने  जिल्ला पशुसेवा कार्यालय रुपन्देहीका प्रमुख डा. लक्ष्मणबहादुर ढकालले जानकारी दिनुभयो । उहाँले दसैँको बेला जिल्लामा खसीबोकाको माग करिब ५० टनसम्म खपत हुने जानकारी दिनुभयो । कार्यालय प्रमुख ढकालले मासु व्यवसायी सङ्घले सञ्चालन गरेको दसैँ बजारमा किसानको सहज पहुँच हुनुपर्ने भन्दै त्यसका लागि कार्यालयले अनुगमनको व्यवस्था गरेको जानकारी दिनुभयो । रुपन्देहीका विभिन्न नाका हँुदै दैनिक ९० टन मासुजन्य पशुपक्षी जिल्ला भित्रिने गर्छ । ३५ देखि ४० टन जिल्लाका लागि आवश्यक पर्छ भने बाँकी, पोखरा, नारायणगढ, काठमाडौँसम्म पुग्ने गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, अशोज १०, २०७१