बुधबार, बैशाख १९, २०८१

म्याग्दीमा पशुको कृत्रिम गर्भाधान प्रभावकारी

म्याग्दी (बेनी), ५ असोज । गाई भँैसीको नश्ल सुधार गरी उत्पादकत्व बढाउने उद्देश्यले जिल्ला पशु सेवा कार्यालय म्याग्दीले गत सालदेखि सुरु गरेको पशुमा कृत्रिम गर्भाधान सेवा प्रभावकारी भएको छ । कृषकका घरमा नै पुगेर उक्त सेवा दिन थालेपछि किसान पशुमा कृत्रिम गर्भाधानतर्फ लागेका हुन् । चालु आर्थिक वर्षको साउन र भदौ महिनामा मात्रै ९४ वटा पशुमा कृत्रिम गर्भाधान गराइएको जिल्ला पशु सेवा कार्यालय म्याग्दीका प्राविधिक डिल्लीराम रेग्मीले बताउनुभयो ।
रेग्मीले दिएको जानकारीअनुसार साउनमा ५२ र भदौमा ४२ वटा पशुमा कृत्रिम गर्भाधान गराइएको छ । गाई, भैँसी र बाख्रामा कृत्रिम गर्भाधान गराउन सकिने भए पनि हाल गाई र भँैसीका लागिमात्र सेवा सञ्चालन गरिएको छ ।सङ्ख्यात्मक रूपमा धेरै रहेका कम उत्पादनशील पशुको उक्त माध्यमद्वारा उत्पादकत्व वृद्धि गराई दूध उत्पादनको लागत घटाउन सेवा सुरु गरिएको जिल्ला पशु सेवा कार्यालय म्याग्दीले जनाएको छ । कृत्रिम गर्भाधान सेवा सुरु भएपछि राँगो र साँढे पाल्नु नपर्ने हुँदा लागत कम हुने, बाच्छाबाच्छी र पाडापाडीको नश्ल सुधार तथा दूध उत्पादनमा वृद्धि हुने रेग्मीले बताउनुभयो । स्थानीय तथा उन्नत जातका गाई भँैसीमा कृत्रिम गर्भाधान गराउन सकिने कार्यालयले जनाएको छ ।-कृषि साप्ताहिक

प्रकाशित मिति: आइतवार, अशोज ५, २०७१