बिहिबार, बैशाख ६, २०८१

चर्चरे रोगले साठीभन्दा बढी चौपाया मर्न थाले

कञ्चनपुर, ५ असोज । पशुमा लाग्ने चर्चरे रोगका कारण कञ्चनपुरको झलारी–९ दीपनगरका ६० भन्दा बढी चौपाया मरेका छन् । दुई साताअघिदेखि फैलिएको चर्चरे रोगको सङ्क्रमणले धमाधम चौपायाको मृत्यु हुन थालेपछि पशुपालकहरूले नोक्सानी व्यहोर्नुपरेको छ । मुखबाट फिँज निकाल्ने, खुट्टा खोच्याउने, नाक मुखबाट रगत निकाल्नेलगायतका लक्षण देखिएको २४ घण्टामै चौपाया मर्ने गरेको स्थानीय पशुपालकहरूले बताएका छन् ।
चर्चरे रोगले दुधालु गाई, बाच्छाबाच्छी बढी प्रभावित भएको पशु सेवा केन्द्र झलारीका पशु विकास अधिकृत तारादत्त जोशीले बताउनुभयो । यसमा तीन वर्षदेखि छ महिनाका चौपाया बढी प्रभावित भएको पाइएको छ । अझै चौपाया मर्ने क्रम नरोकिएको जोशीले बताउनुभयो । भ्याक्सिन लगाउन चर्चरे रोग लागेका चौपायाको तथ्याङ्क सङ्कलन गरी पशु सेवा कार्यालय महेन्द्रनगर पठाइसकिएको बताइएको छ । माटोमा सुषुप्त अवस्थामा रहेको क्लस्टोडियम चौभाई नामक ब्याक्टेरिया पशुको खुरको घाउ, खटिरा भएको ठाउँबाट भित्र पसी सङ्क्रमण गराउने गर्दछ । चौपायाको अगाडिको मासु भएको भागलाई हातले समात्दा चर्चर गरेको आवाज आउने भएकाले यसलाई चर्चरे रोग भनिने गरिएको पशु सेवा कार्यालयका सूचना अधिकारी शङ्करदत्त जोशीले बताउनुभयो । -कृषि साप्ताहिक

प्रकाशित मिति: आइतवार, अशोज ५, २०७१