शुक्रबार, बैशाख २१, २०८१

पचास लाख मूल्य बराबरको एक रोपनी जग्गादान

बझाङ, ३१ भाद्र । कृषि सेवा केन्द्र झोतालाई रु ५० लाख मूल्य बराबरको एक रोपनी जग्गादान गरेको छ । भैरवनाथ–२ झोता निवासी ७७ वर्षीय कृष्णबहादुर सिंहले आफ्नो नाममा रहेको जग्गा कृषि सेवा केन्द्रलाई दान गरेको हो । विगत १५ वर्षदेखि कृषि सेवा केन्द्र झोताले घर भाडामा लिएर कार्यालय सञ्चालन गर्दै आएको थियो । सोमबार कृषि सेवा केन्द्रलाई जग्गादान गरेपछि जिल्ला कृषि विकास कार्यालय बझाङले एक सम्मान कार्यक्रम गरी सिंहलाई दोसल्ला ओढाई सम्मान गरेको थियो । सम्मान कार्यक्रममा वरिष्ठ कृषि विकास अधिकृत तिवारीले जग्गादानले यस क्षेत्रका समग्र कृषकको हित र विकास हुनुका साथै विकट गाविसका कृषकलाई समेत टेवा पुगेको बताउनुभयो । लामो समयदेखि कार्यालयको भाडा तिरेर सञ्चालन हुँदै आएको कृषि सेवा केन्द्र झोता अबदेखि आफ्नै स्वामित्वमा रही कार्यालय सञ्चालन हुने उहाँको भनाइ छ ।
कृषि सेवा केन्द्र झोताले भैरवनाथ गाविसलगायत ११ वटा गाविसका कृषकलाई सेवा दिँदै आएको छ । यस सेवा केन्द्रमा एक कृषि अधिकृतसहित चार कृषि प्राविधिक र दुई कार्यालय सहयोगी गरी सात कर्मचारीको दरबन्दी रहेको छ ।

प्रकाशित मिति: मङ्लबार, भदौ ३१, २०७१