मङ्लबार, बैशाख ११, २०८१

रुपन्देहीका एग्रोभेट तथा बीज भण्डार मापदण्डबाहिर

लुम्बिनी (रुपन्देही), ३१ भाद्र । रुपन्देहीमा सञ्चालित एग्रोभेट तथा बीज भण्डारले सरकारले तोकेको मापदण्डबाहिर गएर बिक्री–वितरण गर्दै आएको पाइएको छ । जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले गरेको अनुगमनका क्रममा एग्रोभेट तथा बीज भण्डारले त्यस्तो कार्य गर्ने गरेको पाइएको हो । अनुगमनका क्रममा बिक्री केन्द्रका सरकारले बिक्रीका लागि तोकिएको मापदण्डभन्दा बाहिर रहेका बीउ, विषादी बिक्री–वितरण गरेको पाइएको कृषि कार्यालयका प्रमुख कृष्णभद्र अधिकारीले जानकारी दिनुभयो ।
बिक्री केन्द्रमा तालिम प्राप्त व्यक्ति हुनुपर्नेमा जो कोहीले पनि विषादी बिक्री गरेको समेत पाइएको छ । प्रमुख अधिकारीले तालिम प्राप्त व्यक्तिबाट मात्रै विषादी बिक्री वितरण गर्न गराउन हुन निर्देशन दिनुभयो । अनुगमन टोलीले सिद्धार्थनगर नगरपालिकाको बर्मेलीटोल, कम्हरिया, मधुवनी, लुम्बिनी क्षेत्रमा रहेका बीज भण्डार तथा मलखाद बिक्री केन्द्रको अनुगमन गरेको थियो । अनुगमनका क्रममा मापदण्डबाहिर रहेकालाई तत्काल मापदण्डभित्र आउन कार्यालयले निर्देशनसमेत दिएको छ । निर्देशनलाई अटेर गरे कडा कारबाही गर्ने कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: मङ्लबार, भदौ ३१, २०७१