शुक्रबार, बैशाख १४, २०८१

नर्सरीबाटै वार्षिक रु चार लाख आम्दानी

भीमदत्तनगर, २४ भदौ । विसं २०४५ मा भारतीय सीमावर्ती सहर वनवासाबाट एक थान आँपको बोटबाट नर्सरी सुरु गरेका पानसिंह धामी अहिले नर्सरीबाट वार्षिक रु चार लाख आम्दानी गरिरहनु भएको छ । कञ्चनपुरको झलारी गाविस–२ जुडाका पानसिंह धामीले अहिले सयौँ बोटबिरुवा पाइने नर्सरी चलाउँदै आउनुभएको छ । उहाँले अहिले वार्षिक रु चार लाखसम्म आम्दानी भइरहेको बताउनुभयो । धामी नर्सरी सञ्चालन गरिरहनुभएका उहाँले आफ्नो व्यक्तिगत प्रयासमा गाउँमै १०० भन्दा बढी प्रजातिका बोटबिरुवा उत्पादन गरी बिक्री वितरण गर्दै आउनुभएको छ । बर्खायाममा बिक्री गर्न चटारो नै हुन्छ,” उहाँले भन्नुभयो – “मेरो विदेशको कमाई घरमै छ ।”
“विसं २०४५ मा वनवासाबाट १४ बोट आँपको बिरुवा लिएर घर फर्किंदै थिए,” धामीले भन्नुभयो, “त्यतिबेला दुई देशबीचको नाकाबन्दीका कारण भारतीय प्रहरीले सबै बोट नाकामा ल्याउन दिएनन् ।” उहाँले १३ बोट किनेकै ठाउँमा फिर्ता गरी एउटा बोट लुकाएर ल्याएको बताउनुभयो । अहिले उहाँको नर्सरीमा लोपोन्मुख प्रजातिका विभिन्न प्रकारका बोटबिरुवा सहजै पाइन्छन् । पौने दुई बिघा जमिनमा नर्सरी सञ्चालन गरेका धामीले सुदूरपश्चिमका सबै जिल्लामा आफूले उत्पादन गरेका बोटबिरुवा पठाउनुहुन्छ ।

प्रकाशित मिति: मङ्लबार, भदौ २४, २०७१