शुक्रबार, चैत्र १६, २०८०

प्राङ्गारिक खेतीबाट जीवनस्तर सुधार कार्यक्रम सुरु

बागलुङ, २४ भदौ । जिल्लाको तमान गाविसमा सञ्चालित प्राङ्गारिक खेतीबाट जीवनस्तर सुधार कार्यक्रमले कृषकको आयआर्जन बढाएको छ । पहिलोपटक व्यावसायिक तरकारी खेती सुरु गरेका कृषक घरमै बसीबसी आम्दानी बटुल्दा खुसी छन् । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम, विश्व वातावरण कोष, साना अनुदान कार्यक्रमको आर्थिक सहयोग तथा कृषि विकास कार्यालयको प्राविधिक सहयोगमा सञ्चालित प्राङ्गारिक खेतीबाट जीवनस्तर सुधार कार्यक्रमअन्तर्गत पूर्ण बन्द प्लास्टिक घरमा तरकारी खेती गरिएको हो । तुलनात्मक रुपमा बढी चिसो हावापानी भएको तमान गाविसमा तरकारी खेतीका लागि पूर्ण बन्द प्लास्टिक घर (टनेल) सफल देखिएको छ ।
पहिलोपटक उक्त प्रविधिबाट व्यावसायिक तरकारी खेती सुरु गरेका कृषक सोच्दै नसोचेको उत्पादन देखेर दङ्ग छन् । समुद्री सतहदेखि २४०० मिटरको उचाइमा अवस्थित दुर्गम गाउँ तमानमा ४२ वटा पूर्ण बन्द प्लास्टिक घर निर्माण गरी तरकारी खेती गरिएको छ । त्यस्ता घरभित्र मुख्य गरी सिर्जना, माकिस, उइनसरी जातको गोलभेँडा, अकबरे खुर्सानी, भन्टा, पिली जातको करेला र स्नो क्राउन जातको काउली, काँक्रा, घिरौँलालगायतका तरकारी बाली उत्पादन भइरहेको तमान कृषक समूहका अध्यक्ष कुलबहादुर बुढाथोकीले बताउनुभयो ।

प्रकाशित मिति: मङ्लबार, भदौ २४, २०७१