सोमवार, बैशाख २४, २०८१

तरकारीको आइपिएम पसल दुई सातापछि सञ्चालन

arganikकाभ्रे, १६ भदौ । आइपिएम प्रविधिबाट उत्पादन भएको तरकारीको बिक्री वितरण गर्ने बनेपाको पसल फरक स्थानमा स्थानान्तरण हुने गरी दुई सातापछि पुनः सञ्चालनमा आएको छ ।

साताको एक दिनमात्रै सञ्चालन भइरहेको सो बजार स्थान अभावका कारणले बन्द भएको र अहिले एकपटकका लागि सोही स्थानमा र पछि बनेपाको अन्यत्र स्थानमा सारिने कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकका वरिष्ठ कृषि अधिकृत सहदेवप्रसाद हुमागाईंले जानकारी दिनुभयो ।
जैविक विषादीको मात्रा बढी र रासायनिक विषादीको मात्रा कम प्रयोग गरेर कृषकहरूले आएपिएम प्रविधिबाट उत्पादन गरेको आलु, काँक्रा, बोडी, काउलीलगायत मौसमअनुसारका विभिन्न तरकारीको सो बजारबाट बिक्री वितरण हुँदै आएको थियो ।
त्यस्तो प्रविधिबाट उत्पादन हुने तरकारी किन्न बजारमा उपभोक्ताको भिड लाग्ने गरेको थियो ।
विसं २०६९ कात्तिक १ गतेदेखि आएपिएम कृषक समूह, कृषि विकास कार्यालय र उद्योग वाणिज्य सङ्घ काभ्रेपलाञ्चोकको कोसेली घरको संयुक्त पहलमा सञ्चालन भएको तरकारी बजारलाई अझ प्रभावकारी बनाउने सोच रहेको वरिष्ठ अधिकृत हुमागाईंले बताउनुभयो ।
जिल्लामा २०५४ सालदेखि नै २२ गाविसका कृषकले आइपिएम प्रविधिबाट विभिन्न थरिका तरकारीको उत्पादन गर्दै आएका छन् ।
कृषि विभागअन्तर्गत बाली संरक्षण निर्देशनालयको अगुवाइमा काभ्रेपलाञ्चोक, धादिङ र चितवनमा आइपिएम प्रविधिबाट तरकारी खेतीको उत्पादन गर्ने लक्ष्य लिइएको छ ।

प्रकाशित मिति: सोमवार, भदौ १६, २०७१