शुक्रबार, बैशाख १४, २०८१

प्राङ्गारिक खेतीका लागि अभियान

काठमाडौँ, ११ भदौ । बजारमा विषादीयुक्त तरकारीलगायत खाद्यान्न बिक्री वितरण भइरहेका समाचार आइरहेका अवस्थामा दक्षिणकाली कृषि सेवा केन्द्रले भने काठमाडौँ दक्षिणभेगमा प्राङ्गारिक खेतीका लागि सचेतना अभियान सञ्चालन गरेको छ ।

कृषिको व्यवसायीकरणतर्फ कृषक प्रत्येक वर्ष आकर्षित भइरहेका छन् । केन्द्रका प्रमुख रघुनाथ खड्काका अनुसार बजारमा प्राङ्गारिक तरकारीको माग बढिरहेकाले यहाँ उत्पादित तरकारीले राम्रो बजार लिन थालेका छन् । केन्द्रका तर्फबाट काठमाडौँ दक्षिणभेगका कीर्तिपुर, मच्छेगाउँ, सेतीदेवी, शेषनारायण, दक्षिणकाली, टल्कु, छैमलेलगायत स्थानका कृषकलाई प्राङ्गारिक खेतीतर्फ आकर्षित गर्ने गरी कार्ययोजना अघि बढाइएको उहाँले बताउनुभयो ।
कृषिप्रतिको व्यवसायीकरण पछिल्लो समयमा बढिरहेको जानकारी गराउँदै खड्काले यस क्षेत्रमा पूर्णरूपमा व्यावसायिक खेती गर्नेको सङ्ख्या ५२ घरपरिवार भइसकेको बताउनुभयो । दुई वर्षयता गोलभेँडा, हरियो सागपात, काँक्रो, च्याउलगायत खेती गर्नेको सङ्ख्या बढेकामा पछिल्लो समयमा मौरीपालन गर्नेको सङ्ख्या पनि बढेको छ ।

प्रकाशित मिति: बुधबार, भदौ ११, २०७१