सोमवार, बैशाख २४, २०८१

नेपालको कृषि बिकासमा कृषि संचार महत्वपूर्ण

– राजेन्द्र उप्रती

चितवनको एक जना अग्रणी ब्यवसायिक कृषकले केहि दिन अगाडी मलाई फोन गरे उसको जिज्ञासा कालीमाटी थोक बजारमा सुरु भएको बिषादी परिक्षणको बारेमा जान्नु थियो । उनीसंग केहि बेर त्यसबारेमा कुरा भयो । मानव स्वास्थ्यको हितरक्षार्थ गरिएको एउटा सानो तर सार्थक प्रयास थियो कालीमाटी कृषि थोक बजारमा थालिएका बिषादी परिक्षण गर्ने अभियान । त्यसका सकारात्मक असर काठमाण्डौ, काभ्रे, धादिङ, चितवन हुदै देशभरि फैलियो । त्यस्तै अर्को उदाहरण् हो देश भरी तिब्ररुपमा फैलिरहेको प्लाष्टिक टनेलमा गोलभेडा खेती र गोलभेडाको जात सृजना । यस्ता धेरै उदाहरणहरु छन जसको सुरुवात कृषिकर्मीहरुले गरे होलान तर त्यसलाई देश भर फैलाउने काम आमसंचार माध्यमहरुले गरे । आज समय बदलिएको छ । संचार माध्यमहरुको लागि कृषि क्षेत्र पनि एउटा महत्वपूर्ण क्षेत्रको रुपमा अगाडी आएको छ ।
rajendra Upretiआज भोली संचार माध्यमहरुले प्रकासन प्रसारण गर्ने धेरै जसो विबरणहरु समाचारको रुपमा आएका हुन्छन र यस्ता जानकारीहरु धेरै जसो अपुरा हुन्छन । त्यसले कृषकहरुमा चेतना जगाउन एकदमै महत्वपूर्ण भुमिका खेलेको हुन्छ । तर प्रकाशित समाचार र त्यसको श्रोतसम्म पुग्ने सुचनाहरु प्राय त्यँहा हुदैनन । यसले सुचनाको खोजीमा भौतारिने मानिसहरुको अन्यौल कहिले कँहि झन बढाउन सक्छ । त्यसकारण कृषि प्रविधि र सफलताका कथाहरु प्रकासन प्रसारणगर्दा सकेसम्म पूर्ण जानकारी दिने वा बिस्तृत जानकारी चाहने पाठक श्रोताहरुको लागि संपर्क सुत्र दिन सकियो भने संचार माध्यमहरुको भुमिकालाई अझै प्रभावकारी बनाउन सकिन्छ ।
बर्तमान समयको मागसंगसगै कृषि बिकास कार्यालयहरु पनि संचार माध्यमहरुसंग नजिकिदै छन अनि आफनो कार्यालयको उदेश्य हासिल गर्नका लागि संचार माध्यम, सामाजिक संजालहरुको धेरैभन्दा धेरै प्रयोग गर्न थालेका छन । देशभरि छरिएका एफ.एम. रेडियोहरु आज हामी सबैका लागि आफना सुचना दिने र लिने महत्वपूर्ण माध्यम बनेका छन । त्यस्तै समाचार पत्र र टेलिभिजनहरु जिल्लाका समाचारहरु देशभरी फैलाउन ज्यादै प्रभावकारी भएका छन । त्यसैको नतिजा हो कास्की र सिन्धुलीमा अनार फलेको समाचारले मोरङ्गको किसान अनार लाउन बिरुवा खोजीहिडछ । दोलखामा फलेको किविले बजार पाएको खबरले किवि फलाउन ईलाम जुर्रमुरायर उठछ । यस्ता धेरै धेरै उदाहरणहरु छन जसमा नेपालको कृषि ब्यवसायलाई उझ प्रतिस्पर्धी बनाउन, अझ उन्नत बनाउन संचार माध्यमहरुले महत्वपूर्ण भूमिका खेलेका छन ।
यस्ता धेरै सकारात्मक कुराहरु संगसगै चटकेले जादु देखाए जसरी एउटा केमिकल हाले पछि केहि गर्नै नपर्ने वा कुनै मलखाध हाल्नै नपर्ने जस्ता सन्देश स्थापित कृषिकर्मीहरुलाई माध्यम बनाएर दिने वा एलोभेरा वा स्टेविया जस्ता बाली लगाएर रातारात लखपति हुने सपना देखाएर महँगो मुल्यमा बेर्ना बेचेर बिक्रेताहरु बेपत्ता हुने र सोझासाझा कृषकहरु दिनदहाडै लुटिने क्रम पनि तिब्र भएको छ । नैतिक मुल्यलाई तिलान्जलि दिएर गरिने यस्ता कुकर्महरुलाई नाङ्गेझार पार्न तथा सर्बसाधारण कृषकहरुको हितरक्षार्थ आज हामीहरु सबै लाग्नु पर्ने भएको छ ।
मैले माथि उल्लेख गरेका संचार माध्यमहरुका सकारात्मक भूमिकामा अझ एक पाईला अगाडी बढेर कृषि साप्ताहिकले खेलेको भूमिका ज्यादै उल्लेखनिय छ । कृषि क्षेत्रका ताजा गतिविधिहरु तथा विभिन्न जिल्लामा भैरहेका पे्ररणादायी जानकारीहरु पाठक समक्ष प्रस्तुत गरेर तथा कृषिकर्मीहरुका लागि आफना सिकाईहरु साटासाट पर्ने एउटा लोकप्रिय थलो बनेको छ कृषि साप्ताहिक । यो लोकप्रिय साप्ताहिक आगामी दिनमा देशभरीका कृषकहरुको पहिलो चाहना बन्न सकोस अनी हरेक कृषिकर्मीका लागि आफना सिकाईहरु पस्कने मुल माध्यम बन्न सकोस ।–(लेखक जिल्ला कृषि बिकास कार्यालय, मोरङ्गमा बरिष्ठ कृषि बिकास अधिकृतका रुपमा कार्यरत हुनुहुन्छ ।)

प्रकाशित मिति: मङ्लबार, भदौ १०, २०७१