बुधबार, बैशाख २६, २०८१

लाखको लगानीमा सामूहिक तरकारीखेती सुरु

म्याग्दी, २२ साउन । म्याग्दीको हिस्तान गाविसको टिकोटमा स्थानीय कृषकले सामूहिक रूपमा व्यावसायिक तरकारीखेती सुरु गरेका छन् । कृषिका लागि पर्याप्त सम्भावना भएको टिकोट गाउँका कृषकले व्यावसायिक तरकारीखेतीबाट आयआर्जन गर्ने लक्ष्यसहित रु २० लाख लगानीमा सामूहिक तरकारीखेती सुरु गरेका हुन् । युनाइटेड एग्रिकल्चर कृषक समूहमा आबद्ध १० जनाले पहिलो चरणमा २५ रोपनी क्षेत्रफलमा आलु, बन्दा, काउली, मुला गाजरलगायतका तरकारीखेती सुरु गरेको समूहका व्यवस्थापक भक्त पुर्जाले जानकारी दिनुभयो ।
वार्षिक रु ५० हजारमा जग्गा भाडामा लिएर समूहले सुरु गरेको तरकारीखेतीबाट पहिलो मौसममा रु साढे दुई लाख बराबरको आलु बिक्री गरेको पुर्जाले बताउनुभयो । “हङ्कङ र युकेमा रहेका स्थानीयले समेत समूहमा लगानी गरेका छन् । अहिले सुरु गरिएको कृषि खेतीलाई विस्तार गर्ने तयारी गरेका छाँै, समूहका सदस्य प्रदीप पुनले भन्नुभयो ।” अहिले आठ वटा टनेलमा गोलभँेडाखेती गरिएको छ । अहिले सो समूहले सूरु गरेको व्यावसायिक तरकारीखेतीमा छजनाले रोजगारी पाएका छन् भने समूहले नै स्थानीय कृषकले उत्पादन गरेका कृषि उपजको बजारीकरणमा सहयोग गरेपछि अन्य केही युवाले समेत वैदेशिक रोजगारीलाई छाडेर गाउँमै व्यावसायिक तरकारीखेती सुरु गरेका छन् ।
युनाइटेड कृषि समूहले गाउँमा कृषकले उत्पादन गरेका कृषि उपज सङ्कलन गरी बजारीकरणसमेत गर्दै आएको छ । समूहले यो वर्षमा रु २० लाख बराबरको बन्दामात्रै गाउँबाट बाहिर निर्यात गर्ने लक्ष्य लिएको जनाएको छ । व्यावसायिक तरकारीखेतीसँगै पोल्ट्रीफर्मसमेत सञ्चालन गरेको समूहले सामूहिक बाख्रापालन र गाईपालन गर्ने योजना बनाएको व्यवस्थापक भक्त पुर्जाले जानकारी दिनुभयो । -कृ.सा.

प्रकाशित मिति: बिहिबार, साउन २२, २०७१