शुक्रबार, बैशाख १४, २०८१

कोल्डस्टोरमा राखेको रु १८ करोडको आलु टुसा पलाएर बिग्रियो

बनेपा, २२ साउन । काभ्रेपलाञ्चोक जिल्लामा कोल्डस्टोरमा राखेको रु १८ करोड बराबरको आलु टुसाएर बिग्रिएपछि कृषकले क्षतिपूर्तिको माग गरेका छन् । उनीहरूले कोल्डस्टोरले क्षतिपूर्ति दिनुपर्ने जिकिर गर्दै जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा ज्ञापनपत्र बुझाउनुका साथै जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि अधिकृत सहदेवप्रसाद हुमागाईंको संयोजकत्वमा छानबिन समितसमेत गठन गरेका छन् । सो समितिले दुई दिनभित्रै प्रतिबेदन बुझाउने गरी आज बनेपा नगरपालिका वडा नं ११ बुडोलमा रहेको पाँचखाल आलु कोल्डस्टोरमा राखेको आलु के कारणले बिग्रिएको भन्ने विषयमा छानबिन सुरु भएको कृषि विकास कार्यालयका बागवानी अधिकृत सूर्यबहादुर थापाले जानकारी दिनुभयो । उहाँले कोल्डस्टोरमा रहेको झन्डै ४४ हजार ५०० बोरा आलु टुसा पलाएर बिग्रिएको उल्लेख गर्दै कोल्डस्टोरले एमोनिया ग्यास लिक भएर आलुमा टुसा पलाएको जिकिर गरेको बताउनुभयो ।
यो प्राविधिक हिसाबले बिग्रेको होइन तर उत्पादन घट्न सक्छ बागवानी अधिकृत थापाको भनाइ छ । उहाँले रु सातका दरले क्षतिपूर्ति दिन कोल्डस्टोर तयार भएको उल्लेख गर्दै क्षतिपूर्तिका विषयमा कृषक र कोल्डस्टोरबीच कुरा नमिल्दा विवाद देखिएको समेत जानकारी दिनुभयो । कृषकले कोल्डस्टोरमा रहेको आलु बिग्रिएको भन्दै रु ७० का दरले प्रतिकिलोग्राम क्षतिपूर्ति मागेका छन् । सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, चितवन जिल्लाका कृषकले जनकदेव, कार्डिनललगायत उन्नत जातको आलुको बीउ कोल्डस्टोरमा राखेका थिए । यी जातमध्ये ६५ प्रतिशत जनकदेव जातको आलुको बीउ कोल्डस्टोरमा रहेको थियो ।

प्रकाशित मिति: बिहिबार, साउन २२, २०७१