शुक्रबार, चैत्र १६, २०८०

कृषि तथा वनजन्य उद्योगको सङ्ख्या बढदो

प्युठान २२ साउन । जिल्लामा पछिल्ला वर्षहरूमा कृषि तथा वनजन्य उद्योगहरूमा आकर्षण बढन् थालेको छ । जिल्लामा घरेलु तथा साना उद्योग कार्यालयमा कृषि तथा वनजन्य उद्योगहरू स्थापना हुने दर बढेसँगै यस्तो पाइएको हो । व्यावसायिक कृषि तथा व्यावसायिक पशुपालनका लागि पहल भएसँगै यस्ता उद्योगहरू स्थापना हुने दर पनि वृद्धि भएको घरेलु तथा साना उद्योग विकास कार्यालयले जनाएको छ । पछिल्ला वर्षहरूमा नेपाल सरकारले कृषि तथा पशुपालनमा जोड दिएसँगै यस्ता उद्योग स्थापनामा आकर्षण बढेको घरेलु तथा साना उद्योग विकास अधिकृत रामबहादुर रानाले बताउनुभयो । “कृषि र वनजन्य उद्योग स्थापना हुने दर बढेसँगै यस क्षेत्रमा लगानी गर्नेहरूको सङ्ख्या पनि वृद्धि भएको छ”– रानाले भन्नुभयो ।
पछिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७०/७१ मा जिल्लामा घरेलु उद्योग स्थापना हुने दर दोब्बरले वृद्धि भएको छ । आव २०६९/७० मा ९१ घरेलु उद्योगहरू स्थापना भएकामा आव २०७०/७१ मा १४३ उद्योग दर्ता भएको कार्यालयले जनाएको छ । जिल्लामा कृषि तथा वनजन्य उद्योगहरू स्थापना कम हुने गरेकामा आव २०७०/७१ मा १६ वटा कृषि तथा वनसँग सम्बन्धित उद्योग स्थापना भएको कार्यालयका नासु लोकबहादुर बस्नेतले जानकारी दिनुभयो । “कृषि तथा वनजन्य उद्योगहरूमा पुँजी लगानी एउटैमा करोडसम्मको भएको छ ।” बस्नेतले भन्नुभयो, “दाखाक्वाडीमा एउटै कृषि उद्योगअन्तर्गत गाईपालनका लागि रु एक करोडसम्मको लगानी भएको छ ।”
आव २०७०÷७१ मा यहाँ कुखुरापालन, दूध डेरी उद्योग र कृषि फर्महरू स्थापना धेरै भएका छन् । कार्यालयमा रु तीन लाखदेखि रु एक करोडसम्म पुँजी लगानी भएका यस्ता उद्योग खुल्ने दर धेरै रहेको बस्नेतले जानकारी दिनुभयो । एक वर्षको अवधिमा जिल्लामा उद्योगको नवीकरण तथा दर्ताबाट करिब रु १९ लाखभन्दा बढी राजस्व सङ्कलन भएको छ । जिल्लामा उद्योगतर्फ नयाँ दर्ता भएका उद्योगबाट रु चार लाख ९३ हजार ३०० राजस्व सङ्कलन भएको छ । त्यस्तै नवीकरणबाट रु तीन लाख तीन हजार ४७५ राजस्व सङ्कलन भएको छ । जिल्लामा दर्ता भएका नयाँ २३० वटा व्यापारिक फर्मबाट राजस्व सङ्कलन हुँदा कार्यालयले रु १९ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको कार्यालयले जनाएको छ । -कृषि सा.

प्रकाशित मिति: बिहिबार, साउन २२, २०७१