शनिबार, बैशाख १५, २०८१

उखुमा फट्याङ्ग्राको प्रकोप

बर्दिवास, २० साउन । धान रोप्न नपाएर छट्पटिएका महोत्तरी जिल्लाका किसान अर्को मुख्यबाली उखुमा पनि फट्याङ्ग्राको प्रकोप बढेपछि हैरान भएका छन् । पानी नपरेर धान रोप्न नपाउँदा बिलखबन्द परेका किसान कसैगरी जीवन धानिने आस गरिएको उखुबाली पनि फट्याङ्ग्राले सखाप बनाएपछि घरगुजाराको चिन्ताले पिरोलिएका हुन् । मुख्य नगदेबालीको रुपमा रहेको उखुखेतीमा तीन वर्षयतादेखि साउन महिनामै फट्याङ्ग्राको प्रकोप हुने गरेको किसानको भनाइ छ । बितेका अघिल्ला दुई वर्षमा फट्याङ्ग्राको प्रकोप सुरु हुनासाथै राम्रो वर्षा हुँदा त्यति बढी क्षति नभएको पशुपतिनगर–२ का किसान ब्रह्मदेव महतोले बताउनुभयो ।
यसपालि भने पानी पर्ने छाँटकाँट नै नदेखिँदा अब उखुबालीबाट हात धुनुपर्ने अवस्था देखिएको जिल्लाका आम किसानको भनाइ छ । जिल्लाभरिनै उखुबालीमा फट्याङ्ग्राको प्रकोप देखिएको छ । फट्याङ्ग्राले उखुका पात खाएर ठुटै बनाइसके पनि जिल्लाको रामनगरस्थित एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिज र कृषि निकायले कुनै उपचार र सल्लाह नदिएको भङ्गाहा–४ का उखु किसान अशोककुमार महतोले गुनासो गर्नुभयो । जिल्लामा मुड्न ( पहिलो पटक लगाइएको उखुबाली) र खुट्टी (दोस्रो पटक लिइने उखुबाली) गरी २६ हजार हेक्टर क्षेत्रफलमा उखुखेती रहेको छ ।

प्रकाशित मिति: मङ्लबार, साउन २०, २०७१