शुक्रबार, बैशाख १४, २०८१

प्रतिबन्धित विषादीको व्यापक तस्करी

जनकपुरधाम, २० साउन । नेपाल–भारतबीच रहेको खुल्ला सीमाको फाइदा उठाउँदै तस्करहरूले सरकारद्वारा प्रतिबन्धित विषादी भारतबाट सर्लाही जिल्लामा भित्र्याउने गरेका छन् । सरकारले कलोरडेन, डिडिटी, डाइएटिड्रन, बिएचसी लिन्देन, फस्फामिडन, एन्ड्रिन, अलिड्रन, हेपटाकलोर, मिरेकस, टोकसाफेन, अर्गानोमर्करी, मिथाइल, मोननोक्रोटोफस र इन्डोसल्फानललगायतका विषादीमाथि प्रतिबन्ध लगाइआएको छ । तर यस्ता विषादी सर्लाही जिल्लाका सहर, बजार र ग्रामीण क्षेत्रमा खुलेका एग्रोभेट पसलहरूमा खुलेआम बिक्री हुने गर्छ । कीटनाशक औषधिको नाममा बेचिनेमध्ये सबैभन्दा खतरनाक विषादी मोनोक्रोटोफसलाई मानिन्छ । यसलाई विश्व स्वास्थ्य संगठनले मानव स्वास्थ्यका लागि अत्यन्त हानिकारक ठहर गरी विश्वभर प्रतिबन्ध लगाएको छ । सर्लाही जिल्लामा विषादी भित्रिने मुख्य मार्ग भनेको बन्द रहेको पर्सा छोटी भन्सार नाका, बारा, फेनहरा, सङ्ग्रामपुर र माडसर (धर्मपुर) टोटी भन्सार नाका रहेका छन् । यहाँ सुरक्षाकर्मीको न्यून उपस्थिति भएको फाइदा उठाउँदै तस्करहरूले भारतबाट यस्ता प्रतिबन्धित विषादी भित्र्याउने गर्दैआएका छन् तर प्रहरीले अहिलेसम्म विषादी ओसारपसारमा संलग्नलाई पक्राउ भने गरेको छैन ।

प्रकाशित मिति: मङ्लबार, साउन २०, २०७१