आइतवार, बैशाख १६, २०८१

मानव शरीरलाई प्रत्यक्ष असर पार्ने विषादी बिक्री

भक्तपुर, १३ साउन । जिल्लामा दर्ताबिना नै तरकारी तथा फलफूलमा प्रयोग हुने विषादी बिक्री गर्ने पसल छ्यापछ्याप्ती खुलेका छन् । मानव जीवनमा प्रयोग हुने औषधि बिक्रीका लागि न्यूनतम फार्मेसी उत्तीर्ण गरेको हुनुपर्ने सरकारी नियम भए पनि मानव शरीरलाई प्रत्यक्ष असर पार्ने विषादीको बिक्री भने कुनै नियमबिना नै खुल्लमखुल्ला भएको छ । न पसल दर्ता, न त विषादी कसरी प्रयोग गर्ने भन्नेबारेमा कुनै तालिम नै, हचुवाको भरमा जिल्लाका एग्रोभेटदेखि किराना पसलसम्म सहजै विषादीको बिक्री वितरण हुने गरेको पाइएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लामा बढी तरकारी उत्पादन हुने र बढी विषादी खपत हुने बागेश्वरी गाविस रहेको भए पनि यहाँका सबै किसान एग्रोभेटमै गएर विषादी खरिद गर्ने गरेको पाइँदैन ।
स्थानीय किसान रामकृष्ण श्रेष्ठका अनुसार नजिकै किराना पसल सञ्चालकले तरकारीमा प्रयोग हुने विषादी ल्याइदिने भएकाले खरिपाटीसम्म विषादी किन्न जानु परेको छैन । जिल्लाका अधिकांश ग्रामीण क्षेत्रका किसानले भक्तपुरको बजारसम्म विषादी लिन नआई नजिकैको किराना पसलबाट विषादी लगेर तरकारीमा हाल्ने गरेका छन् । चित्तपोल गाविसका अरुणकुमार सिवाकोटीले आफूले लगाएको तरकारीमा किराना पसलबाटै विषादी खरिद गर्ने गरेको बताउनुभयो । तरकारीमा व्यापक रूपमा विषादीको प्रयोग भएको पाइए पनि जिल्ला कृषि विकास कार्यालय र अन्य निकायले भने विषादी बिक्री गर्ने एग्रोभेट सेन्टर एवम् किराना पसलको अनुगमन गरेका छैनन् । बागेश्वरी गाविसका कृषक मणिराम लामिछानेले कृषि विकास कार्यालयले बजेट सक्ने काम गरे पनि किसानलाई विषादीको प्रयोगबारे जानकारी दिने गरी कार्यक्रम सञ्चालन नगर्दा समस्या आएको बताउनुभयो ।-कृषि सा.

प्रकाशित मिति: मङ्लबार, साउन १३, २०७१