बुधबार, बैशाख १९, २०८१

बीस हेक्टरमा कफीखेती विस्तार

बाबियाचौर, ७ साउन । म्याग्दीमा यस वर्ष २० हेक्टर जमिनमा व्यावसायिक कफीखेतीको विस्तार गरिएको छ । कफीखेतीका लागि म्याग्दीको भूगोल, हावापानी र वातावरण अनुकूल तथा उच्च व्यावसायिक सम्भावना भएकाले कफीखेतीको विस्तार गरिएको कृषि विकास कार्यालयले जनाएको छ । यसअघि जिल्लाभर १२ हेक्टर क्षेत्रफलमा कफीखेती हँुदै आएको थियो । यस वर्ष थप २० हेक्टर क्षेत्रफलमा ४४ हजार कफीका बिरुवा रोपेर कफीखेती विस्तार गरिएको कार्यालयका प्राविधिक सहायक श्यामराज क्षेत्रीले जानकारी दिनुभयो । कफीखेतीको व्यावसायीकरण र विस्तारका लागि किसानलाई ५० प्रतिशत अनुदानमा बिरुवा वितरण गरिएको छ । म्याग्दीको पिप्ले, ज्यामरुककोट, भकिम्ली, बरङ्जा, अर्मन र भगवती गाविसलाई कफीखेतीको पकेट क्षेत्रका रुपमा विकास गर्ने तयारी भएको प्राविधिक सहायक क्षेत्रीले बताउनुभयो । समुद्री सतहबाट ८०० मिटरदेखि एक हजार ६०० मिटरको उचाइ भएको स्थानमा कफीखेती गर्न सकिन्छ ।

प्रकाशित मिति: बुधबार, साउन ७, २०७१