बिहिबार, बैशाख ६, २०८१

पैँसट्ठी प्रतिशतमात्र धान रोपाइँ

ललितपुर, ७ साउन । समयमा पानी नपर्दा ललितपुर जिल्लामा ६५ प्रतिशतमात्र धान रोपाइँ सकिएको जिल्ला कृषि विकास कार्यालय ललितपुरले बताएको छ । सो कार्यालयका सूचना अधिकृत हरि पण्डितका अनुसार अघिल्ला वर्षहरूमा समयमा पानी परेकाले असार १५ गतेसम्ममा धान रोपाइँ सकिने गर्दथ्यो । जिल्लाका ६० प्रतिशत स्थानमा आकाशे पानीको भरमा धान रोपाइँ गर्नुपर्ने बाध्यता रहेको अधिकृत पण्डितले बताउनुभयो । बीउ राखेको १३ देखि १७ दिनसम्ममा रोपाइँ गरेमा धानको उत्पादन राम्रो लिन सकिने कार्यालयका प्राविधिक सहायक मुरलीधर घिमिरेले बताउनुभयो । उहाँका अनुसार ठीक समयमा लगाइएको बीउ मात्र राम्रोसँग गाँजिन सक्छ । यस वर्ष रोपाइँ गर्ने समय ढिला भएकाले ललितपुरमा पाँचदेखि १० प्रतिशतसम्म धान उत्पादनमा कमी आउन सक्ने कार्यालयका कृषि प्रसार अधिकृत लेशबहादुर केसीले जानकारी दिनुभयो । केसीका अनुसार गत वर्ष ललितपुरमा २६ हजार ४४२ टन धान उत्पादन भएको थियो ।

प्रकाशित मिति: बुधबार, साउन ७, २०७१