सोमवार, बैशाख १७, २०८१

किसान सुविधा पाउनबाट वञ्चित

म्याग्दी, ६ साउन । कृषि सेवा केन्द्रमा कृषकको पहुँच र प्राविधिक जनशक्ति अभाव हुँदा म्याग्दीका साना किसान राज्यले उपलब्ध गराउने सुविधाबाट वञ्चित भएका छन् । भौगोलिक विकटताका कारण जिल्लामा भएका समिति कृषि सेवा केन्द्रसम्म दुर्गमका कृषकको पहुँच पुग्न नसक्ने र न्यून जनशक्तिका कारण कृषि प्राविधिक खेतबारीसम्म पुग्न नसक्दा साना किसान मर्कामा परेका हुन् ।
सामान्य सेवा, सुविधा र परामर्शका लागि एक–दुई दिन समय लगाएर विकट क्षेत्रका किसान कृषि सेवा केन्द्रसम्म पुग्न नसक्ने अवस्था हुँदा उनीहरू सरकारले उपलब्ध गराउने सेवा सुविधाबाट वञ्चित भएका कृषक समूह सञ्जाल महासङ्घ म्याग्दीका अध्यक्ष कमल थापाले बताउनुभयो । दुर्गम भएकाले प्राविधिक म्याग्दीमा खटिन नमान्ने कारणले दरबन्दीअनुसारको पदपूर्ति हुन नसक्दा पनि कृषकलाई थप मर्का परेको गुनासो रहेको छ । “सदरमुकाम र सेवा केन्द्रनजिकका व्यावसायिक कृषकले सुविधा पाएका छन्”–अध्यक्ष थापाले भन्नुभयो–“दुर्गम र सेवा केन्द्रदेखि टाढा रहेका साना किसानले कृषि प्रविधि, प्राविधिक ज्ञान, मल, बीउ, सिँचाइ, विषादीलगायतका सुविधाबाट वञ्चित हुनुपरेको अवस्था छ ।”

सदरमुकाम बेनीमा रहेको जिल्ला कृषि विकास कार्यालयसहित म्याग्दीको दाना, ज्यामरुककोट, बाबियाचौर, ताकम, पाखापानी र घतानमा सेवा केन्द्र तथा घार र भगवतीमा सम्पर्कस्थल रहेका छन् । जिल्लाभर ४३ जना कृषि प्राविधिकको दरबन्दी भए पनि ३५ जनामात्र कार्यरत रहेकाले सेवाप्रवाहमा समस्या उत्पन्न भएको जिल्ला कृषि विकास कार्यालयका बागबानी विकास अधिकृत वासुदेव पौडेलले बताउनुभयो ।     -कृषि साप्ताहिक

प्रकाशित मिति: मङ्लबार, साउन ६, २०७१