शुक्रबार, चैत्र १६, २०८०

पाँच कृषक समूहलाई हाते ट्र्याक्टर वितरण

गाईघाट (उदयपुर), ५ साउन । जिल्ला कृषि विकास कार्यालय उदयपुरले जिल्लाका पाँच कृषक समूहलाई पाँचवटा हाते ट्र्याक्टर निःशुल्क रूपमा वितरण गरेको छ । कृषि इन्जिनियरिङ निर्देशनालयको सहयोगमा उपलब्ध गराइएको उक्त पाँचवटा हाते ट्र्याक्टर हालै जिल्लाका पाँच कृषक समूहलाई वितरण गरिएको जिल्ला कृषि विकास कार्यालय उदयपुरले बताएको छ । यसरी हाते ट्र्याक्टर वितरण गरिएका कृषक समूहमा त्रियुगा सामुदायिक एकीकृत पशुपालन तथा कृषि फार्म सुन्दरपुर, हरियाली तरकारी कृषक समूह बेल्टार–६, भावना तरकारी कृषक समूह रौता–५ रहेका छन् । अन्यमा जीवनज्योति स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था त्रियुगा नगरपालिका–११ र क्षितिज महिला कृषक समूह त्रिनपा–१७ रातमाटेका कृषक समूहलाई हाते ट्र्याक्टर निःशुल्क वितरण गरिएको जिल्ला कृषि विकास कार्यालय उदयपुरका वरिष्ठ अधिकृत तीर्थ श्रेष्ठले बताउनुभयो । वितरण गरिएको हाते ट्र्याक्टरको प्रतिट्र्याक्टरको मूल्य ७० हजार रहेको छ भने उक्त हाते ट्र्याक्टरको क्षमता १५ हर्जको रहेको पनि जिल्ला कृषि विकास कार्यालय उदयपुरले बताएको छ । एक घण्टामा सात कट्ठासम्म जमिन जोत्न सक्ने क्षमता रहेको उक्त हाते ट्र्याक्टरले प्रतिघण्टा एक लिटरमात्र इन्धन खाने गरेको पनि कृषि विकास अधिकृत श्रेष्ठले बताउनुभयो ।

प्रकाशित मिति: सोमवार, साउन ५, २०७१