शुक्रबार, बैशाख १४, २०८१

किराले आँप नष्ट बनाउँदा करोडौँको क्षति

खोटाङ, ४ साउन । औँसा किराले आँप नष्ट बनाएपछि यस वर्ष खोटाङका कृषकलाई करोडौँको क्षति भएको छ । फल लाग्नासाथ खान सुरु गरेको औँसा किराले जिल्लाका सबै क्षेत्रमा लगाइएको आँप नष्ट पारेपछि करोडौँ क्षति भएको हो ।

यसबारे कृषि कार्यालयमा पटकपटक जानकारी गराउँदासमेत चासो नदिएको हौँचुर–७ का कृषक गोकुल नेपालीले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रै लागि खटिएका कर्मचारीले नै यसो गरेपछि कहाँ गएर कुरा गर्ने ? यसप्रति राजनीतिक दलले विशेष चासो दिनुप¥यो ।”
यसबारे कृषकले समयमा जानकारी नगराएकाले यस्तो समस्या आएको जिल्ला कृषि विकास कार्यालय खोटाङका प्राविधिक सहायक कौशलकुमार साहले बताउनुभयो । उहाँले भन्नुभयो, “कार्यालयमा आएका कृषकलाई किरा मार्ने विधि र औषधिसमेत पठाएका छौँ ।” किरा लागेपछि यस वर्ष आफ्नो मात्रै रु पाँच लाखभन्दा बढीको आँप क्षति भएको हौँचुर–८ का कृषक डिल्लीशेर राईले बताउनुभयो । उहाँले भन्नुभयो, “फल लागेको हेर्दा ज्यादै हर्षित भएका थियौँ, जब पाक्ने बेला भयो, सबै फलमा किरा लागेपछि आसैआसमा नेत्रबास भनेझैँ भयो ।”
कार्यालयका अनुसार जिल्लामा २६५ हेक्टर क्षेत्रफलमा आँपखेती गरिएको छ । आँपखेतीका लागि पकेट क्षेत्र मानिएका गाविसमा यसपालि मात्रै तीन हजारभन्दा बढी बिरुवा बाँडिएको प्राविधिक सहायक साहले बताउनुभयो ।
जिल्लामा उत्पादित आँपमा किरा लागेपछि चर्को मूल्य तिरेर बाहिरबाट बिक्रीका लागि ल्याउनुपरेको सिर्जनशील तरकारी तथा फलफूल बिक्री केन्द्र दिक्तेलका सञ्चालक चुडामणि गदालले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लामा रु ६० देखि रु ८० मा पाइने आँप बाहिरबाट ल्याउँदा दोब्बर तिरेर ल्याउनुपर्छ ।

प्रकाशित मिति: आइतवार, साउन ४, २०७१