शुक्रबार, चैत्र १६, २०८०

दूत बिषादी विश्लेषण प्रयोगशालाका कारण तरकारी व्यापारी आतंकित

काठमाडौँ, ४ श्रावण । २०७१ आषाढ ४ गतेसम्म अत्यधिक बिषादी प्रयोग भएका तरकारी सहज रुपमा आम उपभोक्ताहरुलाई विक्री वितरण गरी दङ्ग परेका तरकारी व्यापारीहरु आषाढ ४ गते पछाडि भने त्रसित बनेका छन् । कालीमाटी तरकारी बजारमा अत्यधिक बिषादी प्रयोग भएका तरकारी विक्री हुने गरेको र ती तरकारीका कारण मानव स्वास्थ्यमा विभिन्न खाले रोग निम्तन थालेपछि कृषि विकास मन्त्रालयले अत्यधिक बिषादी प्रयोग गरिएका तरकारी विक्रीमा न्यूनिकरण गर्दै लैजान सोच अनुरुप दू्रत बिषादी विश्लेषण प्रयोगशालाको ४ गतेदेखि शुरुवात गरेपछि व्यापारीहरु आतंकित बनेका छन् । सो क्षेत्रमा बिषादी प्रयोग भएका तरकारीमाथि निगरानी बढ्दै गएपछि बिषादी प्रयोग गरेर प्रांगारिक तरकारी भन्नेहरु पनि त्रसित भएका छन् । हरिया तरकारीजन्य पदार्थमा मानव स्वास्थ्यलाई हानि हुने गरी अत्यधिक रासायनिक बिषादी प्रयोग गरेको पाईएमा विक्रीका लागि ल्याएका त्यस्ता तरकारी नष्ट गर्ने निर्णय सरकारले गरिसकेको छ । अत्यधिक बिषादी प्रयोग गरी तरकारी उत्पादन एवं विक्री गर्ने व्यवसायीलाई पहिलो पटक सचेत गराउने र सचेत गराउँदा पनि अटेर गरेमा तरकारी विक्रीमा रोक लगाउने निर्णय आषाढ २९ गतेको मन्त्रीस्तरीयबाट निर्णय भईसक्दा पनि बिषादी प्रयोग गरिएका तरकारीको बजारमा पाईनुले बिषादी न्यूनिकरणमा जुटेकाहरुलाई चुनौति थपिदिएको छ ।
मानव स्वास्थ्यलाई हानी पु¥याउने र नेपालमा प्रतिवन्धित ६ प्रकारका बिषादीहरु तरकारीमा गरेको पाइएकाले तरकारीजन्य पदार्थमा बढी बिषादी प्रयोग नगर्न कृषि सचिव जयमुकुन्द खनालले तरकारी तथा फलफूल उत्पादनमा सक्रिय रहेका किसान तथा व्यवसायीहरुलाई आग्रह गरेका छन् । मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव खनालले सो आग्रह गरेका हुन्
गोलभेँडा, हरियो सागसब्जी, आलु प्याजलगायत विभिन्न प्रकारका फलफूलहरुमा विषादी प्रयोग गर्दा खानयोग्यसम्म मात्र प्रयोग गर्नुपर्ने भएकाले जनताको स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने गरी बढी बिषादी प्रयोग गर्ने किसानहरुमा समेत विभिन्न खाले रोग देखा परेको छ ।
मन्त्रालयका सचिव जयमुकुन्द खनालले तरकारी तथा फलफूलमा अर्गेनो फस्फेट र कार्वामेट विषादीहरुले जीवको स्नायुप्रणालीमा हुने एसिटायलकोलिनइस्टरेज इन्ज्वाइमको क्रियाकलापहरुलाई हुन नदिने हुनाले यो दर सकभर कम गर्नेतर्फ लाग्न किसानहरुलाई अनुरोध समेत गरेका छन् ।
पछिल्लो समयमा कालीमाटी तरकारी तथा फलफूल बजारमा विक्रीका लागि ल्याईएका १८७ तरकारीको नमुना परीक्षण गर्दा १५५ वटा स्वच्छ पाइएको, रुकावट दर ३५ देखि ४५ प्रतिशतसम्म पाइएको र २६ वटा तरकारी खान अयोग्य भएको बिषादी विज्ञ समेत रहेका बाली संरक्षण निर्देशनालयका कार्यक्रम निर्देशक डिल्लीराम शर्माले बताएका छन् । शर्माका अनुसार फलफूलमा अर्गेनो फस्फेट र कार्वामेट विषादीको मात्रा ३५ प्रतिशतभन्दा कम भएको उपज उपभोगयोग्य मानिएको, ३५–४५ प्रतिशत भएको चार–पाँच दिन क्वारन्टिनमा राखिएको उपभोग गर्न नहुने र ४५ प्रतिशतभन्दा बढी भएको उपज खान अयोग्य मानिन्छ । एक महिनाको अवधिमा गरिएको परीक्षणबाट काभ्रेको पनौतीबाट आयात गरिएको आलुमा सवै भन्दा बढी बिषादी पाइएको उल्लेख गरिएको छ ।

प्रकाशित मिति: आइतवार, साउन ४, २०७१