बिहिबार, बैशाख २०, २०८१

युवा जुटे फलपूmलका बिरुवा रोप्न

बर्दिवास, २६ असार । महोत्तरी जिल्लाको सुदूर दक्षिण पश्चिमवर्ती सुन्दरपुर गाविसका युवाले आफ्नो गाउँबस्तीमा दुई हजार फलपूmलका बिरुवा रोपेका छन् । गाउँका पर्ती र नदी उकास जग्गामा असारे १५ पर्वसँगै वृक्षरोपण कार्यक्रममा जुटेका त्यहाँका युवाले अभियान सुरु गरेको दुई साता नबित्दै दुई हजार फलपूmलका बिरुवा रोपिसकेका हुन् ।
यस अभियानमा बहुउपयोगी (घाँस, दाउरा, काठ र फलफूल) जातका आँप, लिची, कटहर (रुख), अनार, सपातो र बडहरलगायतका फलका बिरुवा रोपिएका अभियानमा जुटेका हनुमान युवा समूहमा सङ्गठित युवाको भनाइ छ ।
अभियान सुरु गरिएका पछिल्ला १२ दिनमा दुई हजार बिरुवा रोपेर सोको संरक्षणका लागि घेराबेरा गरिएको समूहका संयोजक विनोदकुमार यादवले जानकारी दिनुभयो ।
वृक्षरोपण अभियानमा जुटेका युवाले नयाँ वृक्षरोपणसँगै मसाला (इक्यूलिप्टिस)का रुख हटाउने अभियान पनि सँगसँगै बढाएका छन् । मसाला रोपिएका ठाउँमा पानीका मुहान सुकेका र मसालाको छायाँले जग्गाको उर्वराशक्ति घटेकाले यसको ठाउँमा फलपूmलका बिरुवा रोपिएको अभियानकर्मी युवाको भनाइ छ ।
युवाले सुरु गरेका वृक्षरोपणमा गाउँबस्तीका बूढापाका पनि सामेल हुनेक्रम बढेको छ । गाउँमा हुर्किएका मसालाका रुख काट्न युवाले गरेका अपिलअनुसार ती जातका रुख हटाएर धमाधम फलका बिरुवा रोप्न लागेको सो गाविसको सिंहासिनी बस्तीका ७० वर्षीय रामेश्वर रायले बताउनुभयो ।
पछिल्ला केही वर्षयता अभियानकै रूपमा मसालाका बिरुवा रोपिएपछि ती हुर्कंदै जाँदा सिमसार क्षेत्र, जलाधार क्षेत्र र नदी कुवासहितमा पानी सुकेकाले गाउँका युवाले मसाला हटाउन गरेका अपिल ठीक रहेको बूढापाकाको ठम्याइ छ ।
अभियानमा जुटेका युवाले निजी जग्गामा पनि व्यापक वृक्षरोपण गर्न गाउँलेसँग अपिल गरेका छन् । नयाँ वृक्षरोपणका लागि साउन मसान्तसम्मको समय अनुकूल हुने हुँदा यसपालि यस अवधिभित्र गाउँका पर्ती, नदी उकास र निजी जग्गामा समेत १० हजार बिरुवा रोप्ने लक्ष्य लिइएको अभियानकर्मी समूहका संयोजक यादवको भनाइ छ ।
नयाँ रोपिने फलका बिरुवाको संरक्षणका लागि स्थानीय बस्तीमा संरक्षण समूहसमेत बनाइएको समूहले जनाएको छ ।

प्रकाशित मिति: बिहिबार, असार २६, २०७१