शुक्रबार, बैशाख ७, २०८१

कृषि सामग्रीमा भन्सार छुटको तयारी

काठमाडौं, २६ असार । कृषि मन्त्री हरिप्रसाद पराजुलीले दूध, दुग्धजन्य पदार्थ, मासु एवं मासुजन्य पदार्थ उत्पादन कार्यमा क्रियाशील रहेका संघसंस्थाहरुलाई आवश्यक पर्ने मेशिनरी सामग्रीमा भन्सार छुटको तयारी गरेको बताउनु भएको छ ।
पशु सेवा विभाग, पशुपंक्षी बजार प्रर्वद्धन निर्देशनालयले आयोजना गरेको दुग्ध संकलन केन्द्र तथा चिस्यान केन्द्रहरुलाई मिल्क एनालाईजर वितरण समारोहलाई सम्वोधन गर्दै सो कुरा बताउनु भएको हो । सो कार्यक्रममा बोल्दै मन्त्री पराजुलीले नेपालमा डेरी व्यवसाय घाटामा सञ्चालन भईरहेको उल्लेख गर्दै डेरी व्यवसाय घाटामा जानुको प्रमुख दोषी किसान र व्यवसायी नै भएको बताउनु भयो ।
analyzerपशुपंक्षी बजार प्रर्वद्धनमा विगतमा भएका कमी कमजोरीहरुलाई न्यूनिकरण गर्दै अव त्यस्ता त्रुटीहुन नदिन आफूले प्रयत्न गर्ने समेत मन्त्री पराजुलीले प्रतिवद्धता व्यक्त गर्नु भयो ।
कार्यक्रममा पशु सेवा विभागका महानिर्देशक डा. नरबहादुर रजवारले कृषिमा परिवर्तन ल्याउनका लागि तल्लो तहबाट नै परिवर्तन गर्नु पर्ने उल्लेख गर्नु भयो । पशुपालनमा उत्प्रेरित गर्नका लागि किसानहरुलाइ वितरण गरिएको मेशिनहरु सहि सदुपयोग हुनु पर्नेमा समेत उहाँले जोड दिनु भएको थियो ।
कार्यक्रममा पशु पंक्षी बजार निर्देशनालयका कार्यक्रम निर्देशक डा. केशवप्रसाद प्रेमीले नेपालको अर्थतन्त्रलाई विकास गर्न पशुपंक्षीको क्षेत्रमा उल्लेख्य मात्रामा विकास गर्नु पर्ने धारणा व्यक्त गर्नु भएको थियो । राष्ट्रिय आयको तथ्यांकलाई उदृत गर्दै डा. प्रेमीले पशुपंक्षी पालनबाट नै एक तिहाई आय बृद्धि गर्न मद्दत पुगेको बताउनु भयो । साथै उहाँले किसानहरलाई पशुपालन तर्फ आकर्षण गर्नका लागि नै मिल्क एनालाईजर मेसिन वितरण गरिएको समेत बताउनु भयो । – कमला नेपाल

प्रकाशित मिति: बिहिबार, असार २६, २०७१