शनिबार, बैशाख १५, २०८१

गाईपालन व्यवसाय सुरु गरे तीन दाजुभाइले

इलाम, २३ असार । धन कमाउन विदेशै जानुपर्छ भन्ने युवापुस्ताको अहिलेको मान्यतालाई तोड्दै यहाँका तीन दाजुभाइले गाई फार्म सञ्चालन गरेका छन् । विदेशमा गएर गर्ने परिश्रम यहीँ गर्दा दोब्बर कमाउन सकिन्छ भन्ने सोच लिएर गोदक–६ मूर्तीडाँडाका रेग्मी दाजुभाइले गाई फार्म सञ्चालन गर्नुभएको हो । मेची राजमार्गले छोएको सूर्याेदय नगरपालिका–३ मा ३५ रोपनी जग्गा लिजमा लिएर गाईपालन व्यवसाय सुरु गर्नुभएको हो । नौवटा गाईबाट सुरु गरिएको फार्ममा अहिले २० वटा पुगेका छन् । “पैसा कमाउन युवापुस्ता विदेशिन्छन् तर हामी भने गाईपालनमा लाग्यौँ”, कुमार रेग्मीले भन्नुभयो, “ठूलो लगानी गरेर गाई फार्म सञ्चालन ग¥यौँ । दुई चार पैसा त कमाइएला भन्ने आशा छ ।” बाटैमा भएकाले यहाँ दैनिक ५० जनाभन्दा बढीले फार्म अवलोकन गर्ने गरेका छन् । अध्ययन अवलोकन भ्रमण गर्न आउनेका लागि रेग्मी बन्धुको गाई फार्म उपयुक्त स्थल बनेको छ । जेठा कुमार रेग्मी, माइला यामकुमार रेग्मी र कान्छा अरूण रेग्मीले रु १५ लाख लगानी गरेर फार्म सञ्चालन गर्नुभएको हो । फार्ममा होलिस्टिन, जर्सी र शिरी जातका गाई छन् । मेची राजमार्गले छोएको चिसो हावापानी अनि आउजाउ गर्न सजिलो छ ।
मध्यम परिवारका रेग्मी दाजुभाइ अहिले पालैपालो गाईको स्याहारसुसारमा खट्छन् । कुमार फार्मदेखि लिएर बाहिरी व्यवहार हेर्छन् । यामकुमार गाई दुहँुने घाँसपात र अरूण तरकारी खेती, गाईवस्तुको आहारामा खट्छन् । फार्ममा काम गर्ने तीनजना कामदारसमेत छन् । वार्षिक रु एक लाख ५० हजार भाडामा पैँतीस रोपनी जग्गा लिएर घाँस खेतीसमेत लगाउनुभएको छ । नेपियर, निबारो, दुधिलो धुसलगायतका उन्नत जातका घाँसखेती गर्नुभएको छ । उक्त जमिनमा घाँसखेतीको अलवा अदुवा, टमाटर, कोपीलगायतका तरकारी खेती छन् । गाईलाई खुवाउन कुटी काट्ने मेसिन च्यापकटर, गोठ व्यवस्थापन, परजीवी नियन्त्रणका लागि जिल्ला पशुसेवा कार्यालयले ५० हजारभन्दा बढी अनुदान दिएको छ । गाउँमा उदाहरणीय बनेर व्यवसाय थाल्नुभएको छ, उहाँहरूलाई सहयोग नगरे हामीले कसलाई सहयोग गर्ने जिल्ला पशु सेवा कार्यालयका वरिष्ठ पशु विकास अधिकृत पशुपति ढुङ्गानाले भन्नुभयो । उन्नत जातका गाईले अहिले दैनिक १४० लिटर दूध दिन्छन् । नजिकै रहेको जीवन विकास डेरी उद्योगमा प्रतिलिटर रु ३६ मा दूध बिक्री हुन्छ ।
फार्ममा तीनवटा ब्याउने छन्, केही थाक्ने तरखरमा छन् सरदर सात÷आठवटा दुधालु गाई भइरहन्छन्, सञ्चालक कुमार रेग्मी भन्नुहुन्छ । अझै गाईको सङ्ख्या बढाउने सोच छ । खर्च कटाएर मासिक रु ५० हजारभन्दा बढी आम्दानी हुन्छ तर लगानी गरिएको रकम उठ्न अझै एक वर्षजति लाग्ने उनीहरू बताउँछन् । गाईपालनका लागि उनीहरूले गाउँमै वार्षिक १२ देखि १८ प्रतिशतमा रु १२ लाख ऋण लिएका हुन् । तीन भाईले तीन लाख गरेर सुरुमा १५ लाख लगानी गरियो तर अहिले खर्च बढ्दै गएर २५ लाख पुगेको छ तर त्योअनुसार आम्दानीसमेत बढ्दै गएको कुमार बताउनुहुन्छ । अहिले ऋणको ब्याज तिर्ने र साँवा पनि क्रमशः घटाउँदै लैजाने योजना रहेको उनीहरू सुनाउाछन् । सानैमा माइला र कान्छा इन्डियातिर छिरेकाले तीन भाइको मिलन दशकपछि भएको हो । भेट भएपछि दाजुभाइले विदेश जाने सल्लाह गरेर राहदानी बनाउने तरखरमा लागे । तर दाजु कुमारले विदेश जानुभन्दा स्वदेशमै केही गरेर देखाउनुपर्छ भन्ने र विदेश गएका युवा पनि फर्किएर गाईपालन, बङ्गुरपालन गरेको देखेर उनीहरूले पनि गाईपालन व्यवसाय सुरु गरेका छन् ।  -कृषि साप्ताहिक

प्रकाशित मिति: सोमवार, असार २३, २०७१