शनिबार, बैशाख ८, २०८१

एकै गाविसबाट साढे दुई करोडको आलु बिक्री

बागलुङ, २३ असार । आलुको पकेट क्षेत्र ताराखोलाबाट यो वर्ष करिब साढे दुई करोडको आलु बिक्री भएको छ । गाविसभरका कृषकले गरेको व्यावसायिक आलुखेतीबाट मनग्य कमाइ गाउँ भित्रिएको छ । साठी हेक्टर क्षेत्रफलमा उत्पादित ९०० मेट्रिक टन आलुबाट रु दुई करोड ४३ लाखभन्दा बढीको कारोबार भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । प्रतिकेजी रु २७ कृषकले पाएका छन् । दुई÷चार प्रतिशत आलु खन्न बाँकी रहेपनि सबै आलु बजार निर्यात भइसकेको कृषकहरू बताउँछन् ।
ताराखोलाको प्रमुख बालीका रूपमा रहेको आलु सदरमुकाम बागलुङ बजार, गुल्मी, पोखरा, काठमाडौँ, बुटवल, भैरहवालगायतका सहरमा निर्यात भइरहेको छ । यो वर्ष आलु उत्पादन गत वर्षको तुलनामा दोब्बरले वृद्धि भएको छ । राम्रो बीउ, अनुकूल हावापानी, प्रविधियुक्त खेती प्रणालीले उत्पादन बढेको वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजालले बताउनुभयो । अन्यत्रको तुलनामा ताराखोलाको उत्पादकत्व पनि बढी रहेको छ । जिल्लाको कुल उत्पादकत्व प्रतिहेक्टरमा ११ दशमलव ९७ मेट्रिक टन रहेकामा ताराखोलामा करिब १६ मेट्रिक टन रहेको अधिकृत रिजालले जानकारी दिनुभयो । आलुको बिक्रीबाट कृषकले प्रतिपाथी रु ८० पाउने गरेका छन् । एक पाथीमा तीन किलो १४ ग्राम हुने अगुवा कृषक बलबहादुर रोकाले बताउनुभयो । सबै कृषकले व्यावसायिक रूपमा आलुको उत्पादन र बिक्री गर्ने गरेका छन् । ताराखोला–८ का सस्तबहादुर रोकाको घरमा यो वर्ष १५० मुरी आलु फेलेको अगुवा कृषक रोकाले जानकारी दिनुभयो । प्रत्येक घरमा न्यूनतम् १५ मुरीदेखि माथि आलु फल्ने गरेको उहाँको भनाइ छ ।
“आलु यहाँको प्रमुख बाली हो, आलुले कृषकको जीवन धानिएको छ”, रोकाले भन्नुभयो, “अन्य अन्नबालीभन्दा आलु उत्पादन पनि राम्रो हुने र बजार पनि पाउने भएकाले आलुखेतीमा आकर्षण छ, राम्रो कमाइ पनि छ ।” यो याममा १३ ट्र्याक्टर जति आलु ल्याएर बिक्री गरिसकेको बागलुङ बजारका आलु व्यापारी गोपाल सापकोटाले बताउनुभयो । उहाँले ताराखोलाका विभिन्न सात स्थानबाट आलु सङ्कलन गरेको आलु बागलुङ, पोखरा र भैरहवामा समेत बिक्रीका लागि पठाउनुभएको छ । अझै पाँच÷सात प्रतिशत जति आलु खन्न बाँकी रहेकाले असारभित्रै बजार आइपुग्ने जनाइएको छ । होलसेल मूल्यमा प्रतिकिलो आलु रु ३५ का दरले बागलुङ बजारमा बिक्री हुने गरेको छ ।
सापकोटा जस्तै दर्जन बढी व्यापारीले ताराखोलाबाट आलु खरिद गरेर सदरमुकाम र बाहिरी जिल्लामा बिक्री गर्छन् । बागलुङ बजारमा भित्रने ७० प्रतिशत भारतीय आलुलाई विस्थापित गरिदिएको व्यापारी बताउँछन् । जिल्लामा उत्पादन हुने आलु यहीँ राख्न सके बाहिरी आलुमा निर्भर रहनुपर्ने बाध्यता सजिलै हट्ने वरिष्ठ कृषि विकास अधिकृत रिजालको भनाइ छ । आलु बीउ र उपभोगका लागि बाहिरी जिल्लामा बढी निर्यात हुने गरेको छ । आलुको उत्पादन र बजारीकरणलाई व्यवस्थित गर्नसके बागलुङलाई पुग्ने र बाहिर पनि पठाउन सकिने अधिकृत रिजालको भनाइ छ । अहिले बागलुङमा १४३२ हेक्टरमा आलुखेती हुने गरेको छ । बर्खे र हिउँदे दुवै गरी वार्षिक कुल १७ हजार १४८ मेट्रिक टन आलु उत्पादन हुने गरेको कृषि कार्यालयले जनाएको छ ।     -कृषि साप्ताहिक

प्रकाशित मिति: सोमवार, असार २३, २०७१