शुक्रबार, बैशाख १४, २०८१

घरबारी बगँैचालाई आधुनिकीकरण गरी सशक्त बनाउनुपर्छ– विज्ञहरू

काठमाडौँ, २२ असार । पारिवारिक खेती एवम् घरबारी बगँैचालाई आधुनिकीकरण गरी सशक्तरूपमा अघि बढाउनुपर्ने आवश्यकता आँैल्याइएको छ । परिवारका सदस्य मिलेर प्रत्यक्ष सहकार्यमा घरवरिपरिको जग्गामा व्यवस्थित रूपमा बाली र वस्तुको उत्पादन गर्ने हिसाबले गरिने खेतीलाई पारिवारिक खेती भनिन्छ । युवा जनशक्ति रोजगारीको सिलसिलामा विदेशिन बाध्य हुनु तथा उत्पादनशील जमिन घडेरीका लागि धमाधम प्लटिङ हुने कार्यले तीव्रता पाएको सन्दर्भमा परम्परागतरूपमा चलाइँदै आएको पारिवारिक खेती र घरबारी बगँैचालाई सामान्य सुधारका साथ व्यवस्थापन गर्नसके त्यसबाट निकैै लाभ लिन सकिने अवधारणा अघि सारिएको छ । कृषि विकास मन्त्रालयको आर्थिक सहयोगमा अन्तर्राष्ट्रिय पारिवारिक खेती वर्ष २०१४ राष्ट्रिय कार्यान्वयन समिति नेपालले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा मन्त्रालयसहितका अधिकारीले आफूले चाहेअनुसारको ताजा र स्वच्छ तरकारी, फलफूल र खाद्यवस्तु घरबारी बगैँचाबाट थोरै मिहिनेतबाट प्रशस्त उब्जनी गर्न सकिने बताउनुभयो ।
राष्ट्रिय कार्यान्वयन समितिको पहलमा यो वर्ष ७५ वटै जिल्लाका ४५२ गाविसमा पारिवारिक खेती र घरबारी बगँैचा व्यवस्थापन र उपयोगका विषयमा किसानसँग बहस र पैरवी गर्ने काम अन्तिम चरणमा रहेको जानकारी दिइयो । सो पैरवीमा पारिवारिक खेती र घरबारी बगैँचाबाट लिन सकिने लाभ र त्यसको उचित व्यवस्थापनको विषयमा केन्द्रित रहेर किसानसँग छलफल गरी राय सुझावसमेत लिइएको थियो । पारिवारिक खेती र घरबारी बगैँचा व्यवस्थापनमा सामान्य ध्यान पु¥याउने हो भने विषादिरहित ताजा फलफूल र खाद्य वस्तु उत्पादनमा अहिलेको तुलनामा धेरै गुना सुधार ल्याउन सकिने तर्क गर्दै वक्ताहरूले जसबाट खाद्य सङ्कट र गरिबीबिरुद्ध लड्न योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । नेपालको अन्तरिम संविधानमा प्रत्येक नागरिकलाई खाद्य सम्प्रभूताको हक हुनेछ भन्ने प्रष्ट व्यवस्था भए पनि उत्पादनमा जोड नदिने हो भने संविधानमा लेख्दैमा कार्यान्वयन नहुने उहाँहरूको तर्क थियो । सरकारले पारिवारिक खेती र घरबारी बगँैचा व्यवस्थापनलाई व्यवस्थित तुल्याउन प्रविधिमा आधारित ‘हरित क्रान्ति नै द्रुततर विकासको आधार हो’ भन्ने रणनीति अघि सारेको छ ।
त्यसका लागि निर्वाहमुखी कृषि प्रणालीलाई व्यावसायिक एवम् प्रतिस्पर्धात्मक कृषि प्रणालीमा रूपान्तरण गरेर जनताको जीवनस्तरमा सुधार ल्याउनुपर्नेमा उक्त रणनीतिले जोड दिएको छ । उत्पादन र उत्पादकत्व बढाउन, विश्व बजारमा प्रतिस्पर्धा गराउन, प्राकृतिक स्रोत साधनको सदुपयोग गर्न तथा पर्यावरण जोगाउन नीति कार्यान्वयमा विशेष ध्यान दिनुपर्नेमा विद्धानहरूले जोड दिएका छन् । पारिवारिक खेती र घरबारी बगैँचाको आधुनिक व्यवस्थापन गरी भूमिमा लक्षित समूहको पहुँच बढाउने, भूमि बैंक र खरिदमा सहुलियत ऋणको व्यवस्था, प्राङ्गारिक खेतीलाई प्रोत्साहन तथा परम्परागत स्थानीय मौलिक प्रविधिको प्रयोगलाई सुरक्षित तुल्याउन आवश्यक रहेको धारणा सो अवसरमा व्यक्त गरियो । स्थानीय तथा मौलिक जैविक विविधताको सङ्कलन, सम्बद्र्धन र सदुपयोग हुन गई कृषिप्रधान मुलुक भएरपनि वार्षिकरूपमा अर्बाैं मूल्य बराबरको खाद्यान्न, तरकारी तथा फलफूल विदेशबाट आयात गर्नु पर्ने बाध्यतालाई केही हदसम्म अन्त्य गर्न सकिने धारणा उहाँहरूको थियो । यसरी मन्तव्य राख्नेमा आयोजक संस्थाका अध्यक्ष खेमबहादुर पाठक, कृषि विकास मन्त्रालयका सहसचिव रामप्रसाद पुलामी, वरिष्ठ बाली संरक्षण अधिकृत डा हरिबहादुर केसी, द्रोणराज काप्mले, नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ लिमिटेडका महाप्रबन्धक रुद्रप्रसाद भट्टरराईलगायत हुनुहुन्थ्यो ।    -कृषि साप्ताहिक

प्रकाशित मिति: आइतवार, असार २२, २०७१