शनिबार, बैशाख १५, २०८१

बीस लाख लगानीमा ट्राउट माछापालन

बागलुङ, २२ असार । जिल्लामै पहिलोपटक सुरु गरिएको ट्राउटपालनमा रु २० लाखभन्दा बढी लगानी भएको छ । जिल्लाको ताराखोला गाविसका दुई कृषकले ट्राउट माछापालनमा लगानी गरेका हुन् । ताराखोला–७ मपेसमा धनबहादुर विक र दिलबहादुर रोकाले व्यावसायिकरूपमा ट्राउट पाल्न सुरु गर्नुभएको हो । दुई वर्षअघि परिक्षणका रूपमा माछा पाल्न सुरु गरिएको भए पनि हाल आएर माछापालनलाई व्यवसायीकरण गरिएको हो । १२ डिग्रीको चिसोमा पाइने जापानी प्रजातिको ट्राउट माछा उपभोक्ताको रोजाइमा परेपछि व्यावसायिक उत्पादन सुरु गरिएको कृषक धनबहादुर विकले बताउनुभयो ।
यसअघि सानाठूला गरी ११ वटा पोखरीमा माछापालन सुरु गरेको र थप पाँचवटा नयाँ पोखरीको निर्माण सम्पन्न हुन लागेको कृषक धनबहादुर विकले बताउनुभयो । दुई मिटर चौडाइ र १३ मिटर लम्बाइका ठूला पोखरी निर्माणाधीन अवस्थामा रहेका छन् । “यो दुई वर्ष हाम्रो लागि लगानी गर्दैमा बित्यो, अब यसको प्रतिफल लिने बेला आएको छ” विकले भन्नुभयो, “अर्को वर्षसम्म हामीले पाँच लाख ट्राउटका भुरा उत्पादन गर्ने सोचमा छौँ ।” अहिले पनि पोखरीमा करिब ७०० जति ठूला माछा रहेको विकले जानकारी दिनुभयो । “सुरुदेखि हालसम्म करिब रु २० लाख जति खर्च भइसकेको छ, अझै यसलाई व्यवस्थित र विस्तार गर्ने काम बाँकी नै छ”, विकले भन्नुभयो, “भुरा उत्पादन र वितरण गर्ने नै हाम्रो मुख्य लक्ष्य छ ।” पोखरीलगायतका संरचना निर्माण, भुरा खरिद, जनशक्तिलगायतका क्षेत्र गरी लाखौँ लगानी भएको हो ।
ताराखोलामा उत्पादन भएका ट्राउटका भुरा बिक्रीका लागि पोखराका व्यवसायीसँग कुराकानी भइरहेको उहाँको भनाइ छ । यो अवधिमा पोखरीमा उत्पादन भएका ट्राउट बिक्रीबाट केही लाख रूपैयाँ कमाइ पनि भएको विकले बताउनुभयो । करिब चार जति माछाको तौल एक किलोग्राम बराबर भएको अवस्थामा माछा बेच्न योग्य हुने रोकाले उल्लेख गर्नुभयो । ताराखोलामा ट्राउटको मूल्य प्रतिकिलो एक हजारसम्म पर्ने गरेको छ । केही महिनाअघि १७ हजार माछाका भुरा पोखरीमा छाडिएका थिए । भुरा उत्पादनलाई नै जोड दिइएको बताउँदै व्यवसायी रोकाले ट्राउटको बजारीकरणमा कुनै समस्या नरहेको बताउनुभयो । विक र रोकाले माछापालन व्यवसाय गरेपछि नियमितरूपमा दुई जनाले रोजगारी पनि पाएका छन् । विकले व्यवसाय सुरु गरेको दुई वर्षपछि राम्रो प्रतिफल प्राप्त भइरहेको विचार व्यक्त गर्नुभयो । अघिल्ला ११ र नयाँ थप पाँच गरी १६ वटा पोखरीमा माछापालन गरिने भएको छ । सबै पोखरीमा एकसाथ हजारौँ माछाका भुरा छोडिने विकले बताउनुभयो । ताराखोलामा ट्राउट पाइने भएपछि माछा खान र किनमेल गर्न जानेको सङ्ख्या पनि बढेको छ ।   – कृषि साप्ताहिक

प्रकाशित मिति: आइतवार, असार २२, २०७१